डोटी कारागारका दुई जना कैदीलाई माफी
धनगढी: जिल्ला कारागार डोटीका दुई जना कैदीबन्दीलाई आम माफी दिइएको छ। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनाको बाँकी कैद कट्टा गरेपछि उनीहरु कैदमुक्त भएका हुन्।
बहुविवाह मुद्दामा २ वर्ष ६ महिना जेल सजाय भएका केआईसिंह गाउँपालिका-४ का अन्दाजी २६ वर्षीय श्यामबहादुर कार्कीको बाँकी कैद मिनाहा गरिएको हो। उनले १ वर्ष ८ महिना कैद सजाय काटिसकेका थिए।
त्यस्तै, डोटी जिल्ला बाल सुधार गृहबाट १७ वर्षीय बालकको बाँकी कैद मिनाहा भएको छ। सवारी ज्यान मुद्दामा २०७८ साउन ५ गतेदेखि जिल्ला बाल सुधार गृहमा कैद सजाय काटिरहेका उनको बाँकी कैद मिनाहा गरिएको बताइएको छ। उनलाई दुई वर्षको कैद सजाय तोकिएको बताइएको छ।