सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा क्रिकेट प्रतियोगिताः ४० हजारमा टिम दर्ता, ५१ हजार पुरस्कार 

२०७९ असोज ३, ०५:१३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। असोज १२ गतेदेखि जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुने भएको हो।

जिल्लाका सात वटा स्थानीय तहका टिमलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरिएको संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले जानकारी दिए। उनकाअनुसार ७ गतेसम्म टिम दर्ताको अन्तिम समय निर्धारण गरिएको छ। 

प्रतियोगिताको विजेता टिमलाई ५१ हजार १५१ र दोस्रो हुने टिमलाई २५ हजार ५५१ नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजक डडेल्धुरा क्रिकेट संघले जनाएको छ। अमरगढी नगरपालिका वडा नम्बर ३ को रामलिला मैदानमा खेल सञ्चालन हुनेछन्।

यस्तै प्रतियोगितामा टिम दर्ता शुल्क चर्को राखिएको भन्दै विरोध हुन थालेको छ। विजेतालाई ५१ हजार पुरस्कार राखिएकोमा दर्ता शुल्क मात्रै ४० हजार रहेको छ। दोस्रो हुने टिमलाई भने दर्ता शुल्कभन्दा १५ हजार कम अर्थात २५ हजार नगद पुरस्कार राखिएपछि विरोध भएको हो। 

डडेल्धुरा जिल्ला क्रिकेट संघले भने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकका लागि आयोजकले नै पोसाकको व्यवस्था गर्ने भएकाले शुल्क बढी राखिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस