नवौं ट्रफी सुदूरपश्चिममा
धनगढीः गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक सिंह, सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो।
बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो। ट्रफीलाई अन्य पाँच प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपीएफको मुख्यालयमा प्रदर्शनका लागि राखिनेछ भने त्यसपछि नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा पुर्याइने छ।
ट्रफी आइतबार लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टर र गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरमा प्रदर्शनमा राखिनेछ। यस्तै सोमबार बागमती प्रदेशको हेटौडा, असोज ७ गते नेपाली सेना मुख्यालय जंगी अड्डा, असोज ८ गते प्रदेश १ को राजधानी विराटनगर, असोज ९ गते नेपाल प्रहरीको मुख्यालय नक्साल र सशस्त्र प्रहरीको मुख्यालय हलचोक पुर्याइने छ। यस्तै असोज ११ गते कर्णालीको सुर्खेत, असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर र असोज २३ गते गण्डकी प्रदेशको पोखरा पुर्याइने छ। ओलम्पियन दीपक विष्टको संयोजकत्वमा रनिङ ट्रफी टुर कार्यदल गठन गरिएको छ। कार्यदलका सदस्यहरूमा पारस खड्का, दीपक श्रेष्ठ, मीरा राई र अरुणा शाही छन्।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरेका थिए। करिव १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको रनिङ ट्रफी बनाइएको हो। लगातार तीन संस्करणमा शीर्ष स्थानमा रहने टोलीले यो ट्रफी आफूसँग राख्न पाउनेछन्। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।
प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरी ११ टोलीले सहभागिता जनाउनेछन्।