सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसरी सुरु भयो सोह्र श्राद्ध ?

२०७९ भदौ ३१, ०३:५५ खबर संवाददाता

-भगवान कलौनी
हरेक वर्ष आश्विन कृष्णपक्ष अथवा पितृपक्षमा भव्यताका साथ सोह्र श्राद्ध मनाउने गरेको पाइन्छ। पितृ उद्धारका लागि पितृहरुलाई खानेकुरा जस्तै मिठो भोजन अन्न, जल, द्रव्य, वस्त्र घरमा ब्राहमण बोलाएर दान पुण्य आदि गरेर सोह्र श्राद्ध मनाइने गरेको पाइन्छ। 

खास रहस्य के छ त सोह्र श्राद्धको ? सोह्र दिनमा मात्रै गर्ने ? के अरु दिन गर्न मिल्दैन ? महाभारत युद्धमा जब सूर्यपुत्र करणको मृत्यु भयो तब उनी स्वर्गमा पुगे। स्वर्गमा उनलाई भोजनका लागि खानेकुराको सट्टा सुनचाँदी, हिरामोती जस्ता द्रव्यहरु पस्केर दिइयो। करण त्यो देखेर अचम्ममा परे र करणले स्वर्गका राजा इन्द्रलाई प्रश्न गरे, भोजनमा किन यस्तो चिज पस्केर दियो मलाई भनेर। 

खानाको साट्टा सुनचाँदी हिरामोती दिएर मेरो अपहेलना किन गरियो भन्दा राजा इन्द्रले भने ‘तिमीले कहिल्यै पनि आफ्ना पितृहरुलाई खानेकुरा दान गरेनौं। खानाको सट्टा आफ्ना पितृहरुलाई सुनचाँदी हिरामोती जस्ता चिजहरु मात्रै दान गर्यौ। आफ्नो पितृ उद्धारका लागि खानेकुराहरु कहिले दान नगरेका कारण यसो भएको हो।’

त्यसपछि करणले बिनम्रतापूर्वक आफ्ना पूर्वजहरुको बारेमा थाहा नभएका कारण त्यसो भएको हो भनेपछि राजा इन्द्रले फेरि उनलाई पुनः पृथ्वीलोकमा पठाएका थिए। 

पृथ्वीलोकमा रहुन्जेल करणले मानिस तथा पशुपछीहरुलाई खाद्यान्न तथा जल र उनको अवश्यकता अनुसारका चीजवस्तु दान गरे। पितृहरुलाई तृप्त बनाइएको सो अवधि सोह्र दिन रहेको हुनाले त्यस दिनदेखि यसलाई सोह्र श्राद्ध भनी हरेक वर्ष पितृ उद्धारका लागि मनाउने प्रचलनको सुरुवात गरियो। 

यस अवधिमा यमराजले पनि सबै पितृहरुलाई आ–आफ्नो घर जानका लागि खुल्ला छोडिदिन्छन् भन्ने किंवदन्ती रहिआएको छ।

(कलौनी पञ्चेश्वर गाउँपालिका–१ बैतडीका ज्योतिषी हुन्।)
 

कमेन्ट लोड गर्नुस