सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरोप लागेकै भरमा अपराधी सोचिहाल्नु हुन्न  ! 

२०७९ भदौ २८, ०४:५८

-दानबहादुर सुनार
उमेर पुगेका दुई जना युवायुवती बीचमा प्रेम हुन्छ। क्याम्पस पढ्दाखेरी सुुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ। उनीहरु बीच विवाह गर्ने सम्झौता पनि हुन्छ र पटक पटक सहमतिमै शारीरिक सम्बन्ध हुन्छ। यसै बीचमा युवकले एमबीबीएसमा नाम निकालेकाले पढ्नको लागि विदेश जानुपर्ने भयो। अब युवतीले उनीमाथि दबाब बढाउन थाल्छिन्। 

४/५ वर्ष पछिमात्रै नेपाल फर्किने भएपछि युवतीको मनमा चिसो पस्छ। बिहे गरेर मात्रै विदेश जान उनी दबाब दिन्छिन्। तर युवकले पढाई पूरा गरेर बिहे गरौला भनी आग्रह गर्छन्। त्यसपछि उनीहरुको बीचमा खटपट सुरु हुन्छ। विवाद बढ्दै जान्छ। विवादले उग्र रुप लिएपछि बदलावको भाव पैदा हुन्छ र युवतीले आफूमाथि जबरजस्ती करणी भएको भनी प्रहरीमा उजुरी लिएर जान्छिन्। युवक पक्राउ पर्छ र मुद्दा अदालतसम्म पुग्छ। युवकले आफूहरुबीच प्रेम सम्बन्ध रहेको र राजीखुशीले नै शारीरिक सम्पर्क हुने गरेको भनी बयान दिन्छन्।

तर अदालतले युवकलाई पुर्पक्षका लागि कारागार चलान गर्छ। लामो अनुसन्धानपछि मुद्दा फैसला हुन्छ। अदालतले उनीहरुबीच सहमतिमै शारीरिक सम्पर्क भएको ठहर गर्छ र युवकलाई सफाई दिन्छ। उक्त फैसलाले युवक थुनाबाट मुक्त भएपनि जीवनलाई अनिश्चयको भूमरीमा लगेर छोडिदिन्छ। उनले जीवनलाई पुरानो लयमा अगाडि बढाउन सकेनन्। 

उनको एमबीबीएस अध्ययनका लागि विदेश जाने कार्यक्रम रद्द नै भइसकेको थियो। उनको डाक्टर पढ्ने सपना बीचमै तुहियो। यसबीचमा उनलाई समाजले घृणाको नजरमा हेरिरहयो। उनको घरपरीवारका मान्छेलाई पीडा र तनाव बेहोरीरहयो। 

समाजको नजरमा उनको परिवार बलात्कारीको परिवार थियो। पीडितको नाम गोप्य राखियो, उजुरी गर्नेदेखि मुद्दा फैसला हुँदासम्म पीडित को हुन् भन्ने थाहा भएन।  नक्कली पीडितलाई समाजले चिनेनन्। तर निर्दोष युवकलाई समाजले बलात्कारीको ट्याग भिरीरह्यो। घृणाको नजरले हेरयो र अन्तिममा करियरमा समेत ब्रेक लाग्यो। यसको क्षतिपूर्ती कसले दिने ?  

यो त एक प्रतिनिधिमूलक घट्ना मात्रै भयो। यस्ता कैयौन घट्नाहरु छन्।  जुन किसिमको विकृति र अपराधलाई नियन्त्रण गर्न कानुन बनेको हुन्छ, सोही प्रयोजनको लागि मात्रै कानुनको प्रयोग गरियो भने कानुनको शाख झल्किन्छ। र, न्यायालयको गरिमा उच्च हुन्छ।

जब कानुनमाथि जासूसी र खेलवाड गर्न थालिन्छ, तब वास्तविक पीडितहरु झन् अन्यायमा पर्छन्। आफ्नो स्वार्थपूर्तिको हतियार कानुनलाई बनाइनु हुँदैन। कानुनको आडमा कसैको जीवनमाथि खेलवाड गर्ने कुरा कुनैपनि दृष्टिकोणले सहि हुन सक्दैन। 

महिला र बालिकामाथि हुने दर्दनाक यौनजन्य अपराधलाई रोक्नका लागि कडा कानूनको निर्माण गरियो। कुनै पनि छोरीबेटीहरुप्रति यौन हिंसा नहोस्, अकालमै ज्यान गुमाउन नपरोस्, बलात्कार जस्तो दर्दनाक घट्नाको शिकार हुन नपरोस् भन्ने सोचका साथ दिनप्रति दिन कडा कानुन बनाउँदै लगियो। बलात्कारमा उजुरी गर्ने हदम्याद बढाइयो। 

यति हुँदाहुँदै पनि जब वास्तविक पीडितले न्याय नपाउने र नक्कली पीडितहरुले व्यक्तिगत स्वार्थपूर्तिको लागि मौजुदा कानुनको दुरुपयोग गर्ने हो भने, कानून परिमार्जनको आवाज नउठ्ला भन्न सकिन्न। यसको प्रत्यक्ष असर वास्तविक पीडितलाई पर्न जाने देखिन्छ। 

गोपनियता पीडितको मात्रै हुँदैन। आरोप लागेकै आधारमा कसैलाई दोषी नजरले हेर्न मिल्दैन।  उसको पनि मान, प्रतिष्ठा र इज्जत हुन्छ। उसले पनि भोलि त्यही समाजमा बस्नुपर्छ। लामो समयसम्म बलात्कारीको ट्याग भिरेर प्रताडित भएको मान्छे कसरी समाजमा सजिलै पुर्नस्थापित हुन्छ ?  विशेषगरी हाम्रो समाजले घृणा र चरित्रहिनको नजरले हेर्ने बलात्कार सम्बन्धी मुद्दामा पीडितको नाम पूर्णतया गोप्य हुन्छ। तर आरोपितको नाम, थर, ठेगाना, बुवा, बाजे समेतको तीनपुस्ता नै सार्वजनिक गरिन्छ। हामीले देखेका छौँ, बलात्कारका कैयन मुद्दामा अभियुक्तले सफाई पाएका छन्, निर्दोष साबित भएका छन्।

सफाई पाएर एकछिन त राहतको स्वास फेर्लान् तर महिनौसम्म आरोपित र तीनका घर परिवारले व्यहोरेको तनाव,  हैरानी, पीडा र आत्मग्लानीको क्षतिपूर्ति कसले दिन्छ ?  आफ्नो करियर बनाउने लक्ष्यमा तल्लीन रहेको कुनै युवा यो घट्नाले कसरी पुरानै लयमा फर्किन सक्छ ?  पक्कैपनि उसको जीवन पुरानै लयमा फर्किन सक्दैन। उसका जोसजाँगर पुरानो जस्तो हुँदैन। प्रताडित भएर बाहिर निक्लेको मान्छेको जीवन पुरानै लयमा फर्काउन धेरै मुस्किल पर्दछ। यसको क्षतिपूर्ति कसले दिने ? 

हाम्रा कानूनहरु समय र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छन्। कुनै समय पीडितमैत्री कानून भएन, पीडितका पक्षमा कानून बन्नुपर्छ भन्ने आवाज उठ्यो र सोही अनुसार कानून पनि निर्माण गरियो। अपराध पीडितको हक सम्बन्धी छुट्टै ऐन नै ल्याइयो। पीडितको गोपनियता कायम गर्नेबारे छुट्टै कानून निर्माण गरियो। तर, अहिले परिस्थिति अलि फरक बन्दै गइरहेको छ। 

सहमति भएका कतिपय यौनसम्बन्धहरु कुरा नमिलेपछि बलात्कारको रुपमा दर्ता हुने गरेका छन्। थुप्रै निर्दोष युवकहरुको भविष्य धरापमा पर्ने गरेको छ। विभिन्न लाञ्छना र प्रताडनाको शिकार हुन पुगेका छन्। पीडितको नाम गोप्य राखिन्छ तर एउटा आरोपकै भरमा अभियुक्तको तीन पुस्ते सार्वजनिक गरिन्छ। 

कतिपय बलात्कारका मुद्दाहरु व्यक्तिगत स्वार्थ, प्रतिशोध र इष्र्याका कारणले दर्ता हुने गरेका छन्। अब यस्ता संवेदनशील मुद्दाहरुमा आरोपितको गोपनियता र करियरको बारेमा पनि सोच्नुपर्ने बेला आएको छ। एउटा आरोपकै भरमा देशका होनहार युवाहरुको भबिष्य धरापमा पार्ने कुरा राष्ट्रकै लागि पनि हितकर हुन सक्दैन।

(लेखक सुनार कानुन अधिकृत हुन्।)
 

कमेन्ट लोड गर्नुस