दार्चुलाका बाढीपहिरो पीडितलाई प्रदेश सरकारले राहत रकम पठायो
धनगढी: सुदूरपश्चिम सरकारले दार्चुलाका बाढीपीडितलाई राहत दिन जिल्लामा रकम पठाएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले आइतबार मन्त्रालयमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसाएर राहत रकम पठाउने निर्णय भएको बताए।
मन्त्री रावलले तत्काल राहत दिन मन्त्रालयबाट २७ लाख जिल्लामा पठाइएको बताएका छन्। प्रदेश सरकारले ५ मृतकका परिवारलाई १ लाखका दरले ५ लाख, मृतकका परिवारलाई क्रिया खर्च २० हजारका दरले १ लाख र पूर्णरुपमा क्षति भएका ४२ वटा घरधनीलाई ५० हजारका दरले २१ लाख बजेट दार्चुला पठाइएको मन्त्री रावलले बताए।
मन्त्री रावलले बेपत्ता भएका नागरिकलाई तदारुकताका साथ खोजी कार्य भइरहेको र थप बाढीपहिरो प्रभावित परिवारको पुनर्स्थापनाका लागि संघ तथा स्थानीय सरकारसँग मिलेर थप कार्य गर्ने बताएका छन्।