सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजामती प्रशासन अझै सबल र सक्षम हुन जरुरी

२०७९ भदौ २६, ०४:५६ खबर संवाददाता

-प्रेमराज भट्ट

निजामती सेवा दिवस निजामती कर्मचारीहरुका लागि महत्वपूर्ण दिवसको रुपमा रहेको छ। हरेक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ। देश चलाउन प्रशासन चाहिन्छ। अनि सरकारी रुपमा नियुक्त प्रशासक या भनौ कर्मचारीले दिने सेवाको दिवस हो, निजामती दिवस।

वि सं २०६१ सालबट यस दिवसको सुरुवात भएको हो। वास्तवमा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो। यस वर्षको १९ औं निजामति सेवा दिवस हामीले ूव्यावसायिक र सिर्जनशील प्रशासन, स् विकास, समृद्धि र सुशासनू भन्ने मुल नाराका साथ मनएका छौं। 

निजामती प्रशासन राज्यका कानुन, नीति नियम, योजना बजेट, सरकारका नीति तथा कार्यक्रम कार्यान्वन गर्ने तथा नागरिकहरुलाइ सेवा प्रवाह गर्ने प्रमुख संयन्त्र हो। त्यसैले यसलाई स्थायी सरकार पनि भनेर भन्ने गरिन्छ। फ्रन्ट लाइनमा बसेर गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गरेर जनचाहना अनुरुपको शासन व्यवस्थाको अनुभुती गराउनु निजामती प्रशासनको महत्वपूर्ण जिम्मेवारी र दायित्व पनि हो। जनताले सरल ढंगबाट राज्यका विभिन्न निकायबाट सेवा प्राप्त गरेर जनता सन्तुष्ट भए भने मात्र हामीले मनाउने गरेको निजामती सेवा दिवस र उक्त दिवसको नाराले सार्थकता पाउनेछ। 

हाल हाम्रो मुलुक संघीय शासन पद्धति कार्यान्वयनको चरणमा रहेको छ। नेपालको संविधान २०७२ जारी भई मुलुक तीन तहको राज्य पुन संरचनामा रहेको छ। विभिन्न तीन ओटै तहमा संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालनमा रहेका छन्। राजनीतिक संक्रमणकाल समाप्त भएको छ भने प्रशासनिक संक्रमणकालबाट मुलुक गुज्रिरहेको अवस्थामा अझै निजामति प्रशासन सबल र सक्षम हुन जरुरी छ।

संघियतामा प्रशासनिक व्यवस्थापनको महत्वपूर्ण पाटोको रुपमा रहेको कर्मचारी समायोजनको केही हदसम्म व्यवस्थापन भए पनि कर्मचारी व्यवस्थापनको मुल कानून निजामती सेवा ऐन हालसम्म पनि नआउँदा कर्मचारीहरुमा काम गर्ने वातावरण र उर्जा थपिएको अवस्था देखिएको छैन। यस्ता कुराहरुलाई सरकारले यथाशक्य चाडो टुङ्ग्याएर स्थानीय, प्रदेश र संघमा कर्मचारीहरुको पुर्तिको व्यवस्था तत्काल मिलाउन आवश्यक रहेको छ।

यस्तै किसिमले हाम्रो मुलुकको कर्मचारी तन्त्रले ईतिहासको विभिन्न कालखण्डमा उत्कृष्ट सेवा प्रवाह गरेको जनताका अधिकार स्थापना गर्न लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न महत्वपूर्ण भुमिका खेलेको कुरा सर्वविदितै छ। आउँदा दिनमा पनि संघियता तथा संघात्मक शासन पद्धति मुलुकमा कार्यान्वयन गर्न तथा जनतालाई उत्कृष्ट ढंगबाट सेवा प्रवाह गर्न दत्तचित्त भएर लागि नै रहनेछ। तथापि नयाँ आउने संघीय निजामती सेवा ऐनमा रहेका कतिपय प्रावधानहरुले निजामती कर्मचारीहरुको मनोवल गिर्ने झस्किने जस्तो अवस्था सिर्जना भएको देखिन्छ।

कर्मचारीहरुको मनोवल उच्च राखेर उत्प्रेरणा जगाएर मात्र राज्यले कर्मचारीहरुबाट राम्रो सेवा प्रवाह गर्न सक्दछ। चाहे त्यो कर्मचारीका सेवा सुविधाका कुरा होउन् या वृत्ति विकासका उपयुक्त अवसर होउन् अथवा सेवाको सुरक्षा र हक हितका लागि ट्रेड युनियन अधिकारका कुरा होउन्। यस विषयमा समयमै सम्पूर्ण तहका नेतृत्व चाहे त्यो संघीय सरकार होस्, चाहे त्यो प्रदेश सरकार होस् वा स्थानीय सरकारको होस्। बुझेर कर्मचारीमैत्री ऐन समयमा आउनसके मात्र निजामती प्रशासनबाट सरकारले चाहेजस्तो नतिजा हासिल गर्न सक्नेछ।

कमेन्ट लोड गर्नुस