दार्चुलामा बाढीको कारण भारतले गरेको अस्थायी तटबन्ध ! यस्तो भन्छन् स्थानीय
धनगढीः दार्चुला सदरमुकाम खलङ्गामा कटानको जोखिम बढेको छ। भारतले एकतर्फी महाकाली बगरको सय मिटर नेपालतर्फ तटबन्ध निर्माण गर्दा सदमुकाममा कटानको जोखिम बढेको स्थानीयले बताएका छन्।
महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीको कारण महाकाली नदी थुनिएको स्थानीय चक्रबहादुर बमले बताएका छन्। उनले दिनेशखबरको नागरिक सवाल कार्यक्रममा बोल्दै यस्तो बताए। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्न बगरको सय मिटर नेपालतर्फ अस्थायी तटबन्ध निर्माण गरेकाले महाकाली नदी थुनिएको बमले जनाए। भारतको तटबन्धकै कारण बाढी आएको उनको दाबी छ।
‘भारतको अस्थायी तटबन्धका कारण महाकाली नदीको पानी बग्ने धार साँघुरो भयो, जसकारण महाकाली नेपालतर्फ मोडियो,’ उनले भने, ‘नेपालको तटबन्धमाथि महाकाली नदी उक्लेको छ। जसले गर्दा कटानको जोखिम बढेको हो।’ शुक्रबार रातिमात्रै अविरल वर्षाका कारण महाकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले ठूलो मात्रामा जनधन क्षति भएको छ। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा क्षति पुगेको हो।
बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो। यस्तै महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन्। बाढीपहिरोमा परेर घाइते भएका ८ जनामध्ये ३ जना डिस्चार्ज भएका छन् भने बाँकीको दार्चुला अस्पतालमा उपचार भइरहेको छ।
यता, दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले भने सुरक्षा निकाय परिचालन गरी थुनिएको महाकाली खुलाउन काम भइरहेको बताइन्। वर्षाकै कारण बाढीपहिरोको अवस्था आउको उनको दाबी छ।