सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैंरात राज्यका खैंराती मास्टरहरु

२०७५ फाल्गुन २३, ११:१७ खबर संवाददाता

नेपालमा शिक्षण पेसा किन यति बबुरो, बिचरो, निरिह अनि लाचार बन्यो ? यस प्रश्नको जरो उधिन्दै गयो भने यसको जगमा तीन वटा मुख्य कारणहरु देखा पर्छन्ः

पहिलोः
नेपालको शिक्षण पेशालाई बर्वाद पार्ने बिभिन्न तत्वहरु मध्य राजनीति पनि एक हो । राजनीतिको कुप्रभावबाट नेपाली समाजको कुनै पक्ष  अछुतो नरहे पनि शिक्षा क्षेत्र झनै आक्रान्त बनेको छ । राजनीतिको ऐझेँरुले जेलिएको शिक्षाको बिरुवा आङ्नै हाल्न नसक्ने गरेर सुक्ने अवस्थामा पुगेको छ । सार्वजनिक रुपमा शिक्षकलाई राजनीतिबाट पृथक राखिनु पर्दछ भनेर आदर्शका गफ चुट्नेहरुले शिक्षक अनि शिक्षण पेसालाई शत्ता प्राप्तिको सबै भन्दा सजिलो भर्याङ् बनाएका छन् । एक थरिले राजनीतिक अभिष्ट पुरागर्न शिक्षकलाई उपयोग गरेका छन् भने अर्को थरिले राजनीतिक उदेश्य पुरागर्न शिक्षण पेसालाई नै उपयोग गरेका छन् ।  चाहे राजनीतिज्ञले शिक्षकलाई उपयोग गरुन वा चाहे शिक्षकले शिक्षण पेसालाई उपयोग गरुन कुरो एउटै हो । यो दुबै प्रवृतिले नेपालको शिक्षा प्रणालीलाई नराम्रोसंग प्रभावित पारेको छ । 

सबै  शिक्षकहरु कक्षाकोठा, विद्यार्थी अनि अभिभावकहरुप्रति उत्तरदायी बनेर इमान्दारी पूर्वक काम गर्न सकेको भए शिक्षण पेसाको यस्तो हविगत हुने नै थिएन । केही थान शिक्षक नामधारी मनुवाहरुका कारण देशमा सिंगो शिक्षण पेसालाई हेर्ने दृष्टिकोण नै अत्यन्त नकारात्मक बन्न पुगेको छ । सर्वसाधारणले खुल्ला आँखाले हेर्दा शिक्षक, शिक्षक जस्तो देखिनुपर्छ । राजनीतिक दलको झोले कार्यकर्ता जस्तो होईन । नेपालको बिडम्वना के भयो भने यहाँ ईमान्दार अनि निष्ठावान शिक्षकहरु संधै भरि राज्यको उपेक्षा अनि तिरस्कारको पात्र बनिरहे तर कक्षा कोठालाई संधैभरि अपराध गरेर शक्ती केन्द्रको फन्को मार्नेहरु दण्डित हुनुको साँटो एक पटक होईन पटक–पटक पुरष्कृत भए । शिक्षकलाई कक्षाकोठा प्रति गैरजिम्मेवार बनेर शक्ती केन्द्र प्रति उत्तरदायी भए पुग्ने अवस्थाको सिर्जना पनि राजनीतिले नै बनाएको हो । शत्ता अनि शक्तिको सुमेरु परिक्रमा गरेर सबै किसिमका पापको मोचन हुनेभए पछि शिक्षकलाई कक्षाकोठा अनि बिद्यार्थी प्रति उत्तरदायी भैराख्न जरुरी नै छैन । पाटीलाई सहयोग गरेको समानुपातिकमा परेको भन्ने उक्ति बैमान शिक्षकहरुको हकमा हुवहु लागु भएको छ नेपालमा । 

समग्र शैक्षिक क्षेत्रको सुधारका लागि कागजमा नीतिगत ब्यवस्था राम्रो भएर मात्र हुँदैन । त्यसको प्रभावकारी अनि निश्पक्ष ढङ्गले कार्यान्वयन हुनुपर्दछ । नेपालमा हात्तीको देखाउने दाँत एउटा र चपाउने दाँत अर्को भएर फरक परेको हो ।  यसकै परिणाम स्वरुप शिक्षकले कक्षा कोठामा महिनौ दिन  उपस्थित नभए पनि केहि फरक नपर्ने तर आफ्नो योग्यता अनि दक्षता प्रदर्शन गर्न राजनितिक दलको कार्यालयमा दैनिक हाजिरी लगाउनै पर्ने अवस्थाको सिर्जना यसै कारणले भएको हो । जसले शिक्षकले राजनीति गर्नु हुदैन भनेर सबैभन्दा लामो लेघ्रो तान्ने गर्छन् तिनैले शिक्षकलाई सबैभन्दा धेरै उपयोग गरिरहेका छन् । बिद्यालय र कक्षाकोठामा आक्कल झुक्कल देखिने शिक्षकहरु राजनीतिक सभा समारोहमा नियमित र नविराईकन देखिनुको कारण पनि यही नै हो । विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेका बेला कानमा तेल हालेर सुत्ने शिक्षकहरु निर्वाचनको समयमा कक्षाकोठा छोडेर आफ्ना मालिकहरुका लागि  मत माग्दै हिड्नु पर्ने वातावरण त्यसै सिर्जना भएको हो र ?

शिक्षकहरुको हकहितका लागि स्थापना गरिएका भनिएका पेसागत संघ संगठनहरु संस्थागत रुपमा राजनीतिक हलहरुको चाकरी अनि दलाली गर्ने गिरोहहरु भन्दा धेरै केहि होइनन् । तिनले आफ्नो सम्पुर्ण उर्जा पेसागत सुधार र शिक्षकको हक हितका लागि होइन कि मालिकलाई रिझाउन खर्च गर्ने गर्दछन् । मालिकका कोठा चोटा चाहरेर जुठो खान पल्केका शिक्षक नेताहरु कै कारण शिक्षण पेसाको यस्तो हबिगत भएको हो । राजनीतिक सिद्धान्त अनि बिचारधाराले ग्रस्त बनेको नेपाली शिक्षक आन्दोलन चिराचिरा परेर बिभक्त बनेको छ । नेताहरु फुटाउ र राजनीतिगरको सिद्धान्तलाई आत्मसाथ गरिरहेका छन् । शिक्षक नेताहरु चाँहि मालिकको जुठोपिरो चाट्नमा मस्त । यसकै परिणामस्वरुप नेपालमा राज्यले सबैभन्दा बिभेदमा पारेको पेसा नै शिक्षण पेसा बन्न पुगेको छ । राज्य सकारात्मक बन्ने हो भने केहि महिनामा समाधान हुनसक्ने शिक्षकका मामुली समस्याहरु वर्षौसम्म थुप्रिएर बस्नुको कारण पनि यहि नै हो । अस्थायी शिक्षकहरुको समस्या समाधानको ढोङ  कसैले नगरे हुन्छ । उनिहरुको हकमा सबैभन्दा ठूलो अपराध पनि राज्यले नै गरेको थियो भने पापको प्रयाश्चित पनि राज्यले नै गर्यो ठीकै भयो । विद्यालयको निरीक्षणर अनुगमन गर्ने निकायहरुलाई यति लाचार र निकम्मा बनाइएको छ कि बिचराहरु आफ्नै भविश्यलाई लिएर अन्यौलपूर्ण अवस्थामा छन् । तिनलाई आफ्नो काम , कतव्र्य के हो ? अघिकार क्षेत्र कहाँसम्म हो भन्ने कुराको केहि अत्तोपत्तो छैन । कुहिरोमा हराएका काग जस्ता बनेका छन बिचराहरु । ति कुन मन्त्रालयका कर्मचारी हुन् भन्ने कुराको पनि स्थायी ठेगान छैन । तालुकवाला मन्त्रालय हुँदाहुँदै शिक्षाका कर्मचारीहरु नाता साइनो केहि नपर्ने कुनै अमुक मन्त्रालय अन्तरगत रहने अचम्मको चलन नेपालमा मात्रै होला कि अन्त कतै पनि होला ? अचम्म लाग्छ , बिचराहरु कहिल्यै कता चाहारिएका छन्अनि कहिल्यै कता ?त्यसै पनि अनेक हत्कण्डा प्रयोग गरेर एकबारको जुनीमा एकपटक पाएको पद अनि प्रतिष्ठा गुमाउन नपरोस भनेर तिनको ध्यान बिद्यालय भन्दा धेरै शत्ता अनि शक्तिको सुमेरु परिक्रमा गरिरहेको हुन्छ । 

दोस्रोः 
शिक्षण पेसाको बरवादीको दोस्रो कारण चाही खैराती मास्टरहरुमा आएर ठोकिन्छ । खैराती मास्टरहरुका कारण नेपालको शिक्षण पेसा बिचरो, बबुरो मात्र भएको होईन कि हैरान, परेसान अनि बदनाम समेत भएको छ । हारेका जस्ता, थाकेका जस्ता अनि निराशा र कुण्ठाले ग्रस्त रुन्चे अनुहार बोकेर बेला मौकामा कक्षा कोठामा पस्ने खैराती मास्टरहरुले आफ्नो पेशालाई कहिल्यै सम्मान गर्न सकेनन् । जसले आफ्नो पेसाको गरिमा बुझ्दैन ? त्यसको मर्यादा र महत्वलाई बुझ्दैन ? त्यस्ताको पेसालाई अरुले मर्यादित अनि सम्मानित बनाइदिनु पर्ने रे ? संसारमा यो भन्दा पनि हास्यास्पद अनि लाजमर्दो तर्क कतै भेटिएला र ? “ठूलो भएपछि के बन्छस् बाबु ?” भनेर बा आमाले सोध्दाः डक्टर, पाइलट, इन्जिनियर वा यस्तै केहि जवाफ दिने बालबालिकाहरु शिक्षकको नाम कहिल्यै किन उच्चारण गर्दैनन् ? दैनिक दिक्षित गर्ने शिक्षकहरु नै उनीहरुको रोजाइमा किन पर्दैनन् त ? यसको जगमा पनि खैराती मास्टरहरु कै निरासा अनि कुण्ठाको सिनो गनाएको छ । कक्षाकोठामा ठुल्ठुला नैतिक आदर्श अनि जीवन दर्शनका बखान गर्ने हरुको  वास्तबिक जीवन भोगाई त्यसको ठीक बिपरित किसिमको देखेपछि बालबालिकाहरु मा शिक्षण पेसा प्रति कुनै किसिमको आकर्षण बाँकि रहँदैन । उदेश्य चन्द्रमा छुने हुनुपर्छ भनेर कक्षाकोठामा सिकाउनेहरुको आफ्नै जीवन निरासा, कुण्ठा अनि असन्तोषको रसातलमा पुरिएको देखेपछि बालबालिकाहरुमा शिक्षकहरु प्रतिको मोह भङ्ग हुनु स्वाभाविक नै हो । 

शिक्षक कक्षा कोठामा प्रवेश गर्ने वित्तिकै उसको सकारात्मक उर्जाले विद्यार्थीलाई समेत चार्ज गुर्नपर्ने हो तर बिडम्बना कस्तो छ भने शिक्षकको हारेको, थाकेको अनि दिनहीन अनुहार देखेर विद्यार्थीमा भएको उर्जा समेत हराएर जाने अवस्था छ । शिक्षकका लागि कक्षाकोठा आफ्नो नितान्त व्यत्तिगत जीवनका निराशा, हतासा अनि कुण्ठाहरु प्रदर्शन गर्ने स्थल बन्नु दुर्भाग्यपूर्ण कुरा हो । बिद्यार्थीसंग कक्षाकोठामा मात्र होइन कि गोरेटो, दोबाटो, चौक, चौतारोमा बसेर निर्लज्ज ढङगले आफ्नै पेशाको आलोचना अनि बद्धख्वाई गर्नेहरुले कुन नैतिकताका आधारमा शिक्षणपेसा मर्यादित भएन भनेर भन्न सकेका होलान् ? पेसा मर्यादित बन्न सबैभन्दा पहिले पेसाकर्मी मर्यादित बन्नुपर्छ कि पर्दैन ? जुन पेसाबाट आत्मसन्तुष्टि पाइँदैन, आत्मसम्मा र स्वाभिमान गुमेको आभाष हुन्छ त्यसैमा किन जुको टाँसिएझै टाँसिएर बस्नु ? चटक्क छोडेर अन्त हामफाले भैगो नी । जीवन निर्वाहका अनन्त सम्भावनाहरु हुँदाहुँदै पनि किन आत्मसम्मान अनि स्वाभिमानको हत्या गरेर वाँच्नु ? जसले जे भनेपनि आर्थिक उपार्जनका दृष्टिले जीवननै निर्वाह गर्न नसकिने र आफ्ना आधारभूत आवस्यकताहरु सम्म पुरा गर्न नसकिने पेसा चैं होइन शिक्षण । नेपालमा आर्थिक उपार्जनका दृष्टिले शिक्षण पेसा भन्दा धेरै गएगुज्रेका अन्य पेसाहरु पनि छन् । अरु सबै सन्तुष्ट नै देखिन्छन् तर शिक्षकको हकमाअवस्था कति सम्म लाजमर्दो भैसक्यो भने स्वाभिमानी शिक्षकहरुलाई खैराती मास्टरहरुका हर्कतका कारणशिक्षकको पोसाक देखेर नै लज्जित हुनुपर्ने अवस्था आइसक्यो ।मेलाभर्न जाँदा शिक्षक पोसाक , भारी बोक्न जाँदा शिक्षक पोसाक , हलो जोत्न जाँदा शिक्षक पोसाक , मावली जाँदा शिक्षक पोसाक , ससुराली घरबाट फर्कदा शिक्षक पोशाक , हुँदाहुँदा भट्टिबाट लरखराउँदै अनि बरबराउँदै बाहिर निस्कन पनि यहि पोसाक । एकजोर अतिरिक्त लुगा हाल्ने आर्थिक हैसियत प्रदान नगर्ने पेसामा पनि किन लुते कुकुरले गन्हाएको सिनोमा अल्झिए झै अल्झिएको त ? थोरै पनि लाजसरमछैन भनेको ? साँच्चिकै शिक्षण पेसाले एकजोर अतिरिक्त लुगा हाल्न र जीवन निर्वाह गर्न समेत गाह«ो भएको हो भने त्यसैमा टाँसिएर बस्न जरुरी छ र ?

तेस्रोः
स्कुले शिक्षाको बरबादीको तेस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेकोराज्यको शिक्षालाई हेर्ने ढुल्मुले प्रविृति हो । शिक्षाको विकासका लागि राज्यले ठोस अनि प्रभावकारी कदम कहिल्यै चाल्न सकेन । नीतिगत व्यवस्था एकातिर अनि कार्यान्वयन पक्ष अर्को तिर भैदिँदा शिक्षामा गोरेटो र गन्तव्यका बिच कहिल्यै तालमेल मिल्न सकेन । राज्य जहिल्यै शिक्षाको बरबादीको सम्पुर्ण दोष शिक्षकका काँधमा थोपरेर आफु चाँहि पानी माथिको ओभानो बनिरह्यो । संबिधानमा स्कुले शिक्षालाई अनिवार्य र निशुल्क गर्ने भनेर लेख्ने गरेको यतिका वर्ष भैसक्यो । खै त्यसको कार्यान्वयन भएको ? स्कुले शिक्षालाई अनिवार्य अनि निशुल्क भनेर संविधानमा लेख्ने पनि राज्य अनि फेरी बोर्डिङ् स्कुलहरु लाई खुल्ला साँड झै अराजकताको छुट दिने पनि राज्य नै । कक्षाकोठा बङ्क गरेर राजनीतिक समारोहमा खुलम्मखुल्ला भाषणबाजी गर्ने अनि चुनावको बेला मतदाताका घरदैलामा आफ्ना मालिकका लागि भोटमाग्ने शिक्षकहरु लाई खै त राज्यले कार्वाहि गरेको ? के यो घिनलाग्दो तथ्य राज्यको आँखाबाट छिपेको तथ्य हो र ? किमार्थ पनि होइन । यथार्थमा राज्यले यस्तो प्रविृतिलाई मजाले संरक्षण अनि पुरष्कृत गरेको छ ।बरुआफ्नो कर्मलाई धर्म ठान्ने अनि कक्षाकोठालाई पुजा गर्ने शिक्षकहरु सधै राज्यको उपेक्षा अनि तिरस्कारको सिकार बन्ने गरेका छन् ।कामकुरो एकातिर ,कुम्लो बोकी ठिमी तिर शैलीमा पनि कतै शिक्षा क्षेत्रको सुधार सम्भव हुन्छ र ?

 संविधानमा जेसुकै लेखिएको भएपनिपछिल्लो समयमा आएर स्कुले शिक्षाको कार्यान्वयनका सम्वन्धमा राज्य अलमलमा परेको स्पस्ट देखिन्छ । यसकै परिणाम स्वरुप विद्यालय शिक्षाको स्वामित्वलाई लिएर ठूलो कन्फ्युजन देखा परेको छ । नीतिगत अस्पष्टताका कारण स्थानिय सरकार धेरै कुरामा अलमलिए झै शिक्षाको सम्वन्धमा पनि त्यसरी नै अलमलिएको छ । उता राज्यको ढुल्मुले प्रवितिको कारण स्कुले शिक्षाको निरीक्षण र अनुगमन गर्ने नियमित निकाएहरु आफ्नै भविश्यलाई लिएर बिखलबन्दमा परेका छन् ।उनीहरु लाई आफ्नो काम , कर्तव्य के हो ? अधिकार क्षेत्र कहाँसम्म हो ? भन्ने कुराको कुनै आधिकारिक जानकारी छैन ।उनीहरुको अवस्था कस्तो छ भने, कसैले,“ तिमीहरु कुन मन्त्रालयका कर्मचारी हौ ?” भनेर सोध्यो भने विचराहरुसंग ठोस जवाफ नै छैन ।आज यता भोली फेरि उता । तालुकवाला मन्त्रालय हुँदा हुँदै शिक्षाका कर्मचारीलाई नाता साइनो नभएको मन्त्रालय अन्तरगत राख्ने चलन नेपालमा मात्रै हेला कि संसारमा अन्त कतै पनि होला ? शिक्षालाई लिएर राज्यमा विचित्रको बिरोधाभाषमा देखिन्छ ।

शिक्षकले चाहे गर्न सक्छन् भनेर दार्शनिक प्रवचन दिने भाडाका बुद्धिजिविहरु राज्यले नियोजित रुपमा शिक्षा क्षेत्रमा भित्र्याएका बिक्रितिहरुको बारेमा बोल्न किन डराउँछन् ?हुन त बिचराहरुका पनि आफ्नै किसिमकाविवशता अनि बाध्यताहरु छन् होला । सल्लाह सुझावलाई आलोचना र आलोचनालाई गाली सम्झने राज्यसत्ताकागलत कदमका बिरुद्धमा बिचराहरुले कहिले काँहि झुक्किएर केहि बोलिहाले भने बेलामौकामा पाइने पटके जागिर पनि चट होला भन्ने डर । सत्ताको जुठोपिरो चाटेर डकार्ने  बानी परेका बुद्धिजीविहरुको हालत यस्तै हुन्छ । यीनको चरित्र यति कमजोर हुन्छ कि यी न्याएको तराजुले केहि कुरा जोख्ने नैतिक हैसिएत नै राख्न सक्दैनन् । मालिकको अटुट अनि अभिच्छिन्न चाकरी गरेर उनीहरु लाई रिझाउनु र आफुभन्दा तलकालाई होच्याउनु , गाली गर्नु , अपमानित गर्नु यिनीहरुको स्वभाव हो । हो यस्तै प्रवृतिका बुद्धिजीवीहरुका कारण नेपालका इमान्दार र कर्तव्यनिष्ट शिक्षहरु पनि अचानो बन्ने गरेका छन् । हो, शिक्षकले चाहेमा धेरै गर्न सक्छन् तर नेपालको शिक्षा क्षेत्रमा दशकौंदेखि थुप्रिएका समस्याहरु समाधान गर्ने कुरा शिक्षकको बुतोका कुरा मात्र होईनन् । सबैभन्दा पहिले शैक्षिक सुधारका लागि राज्य स्पष्ट हुनुपर्यो । राज्य निष्पक्ष अनि कठोरतापूर्व शैक्षिक सुधारमा लाग्ने हो भने शिक्षाका तमाम समस्याहरु स्वतः समाधान भएर जानेछन् । 

 

कमेन्ट लोड गर्नुस