दार्चुला बाढीः १० जना अझै भेटिएनन्
धनगढी: शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्।
महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ।
प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै एउटा विद्यालय, विद्युत पावर हाउस, दुईवटा झोलुङ्गे पुल, मोटरेबल पुल, पार्किङ गरेर राखिएका ६ जिप, १/१ कार र ट्याक्टर, जेसीबी पनि बाढीले बगाएको छ।