दार्चुला अपडेट : मृतकका परिवारलाई एक लाख दिने मन्त्रीको घोषणा
धनगढी: दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिइने भएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली शनिबार दार्चुला पुगेको हो। त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन्।
उनले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि पनि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने जनाएका छन्। दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। त्यस्तै १० जना बेपत्ता र ८ जना घाइते भएका छन्।