सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाढीपहिरोः थप ९ जना बेपत्ता, ५ घाइते [अपडेट]

५ जनाको शव भेटियो

२०७९ भदौ २५, १२:५८ खबर संवाददाता

धनगढीः दार्चुलामा शुक्रबार रातिबाट परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार अहिलेसम्म ५ जनाको शव फेला परेको छ।

यस्तै पछिल्लो जानकारीअनुसार बाढीपहिरोमा परेर ९ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन्। अहिले प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुगाएको छ। बाढीपहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

बाढीपहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ। यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन्।

यसअघि प्रहरीले नौगाड गाउँपालिका–२ का अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो। यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको प्रहरीले बताएको थियो। 

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ। खलंगास्थित दशरथनगर आधारभूत विद्यालय पनि बाढीले बगाएको छ। दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ। दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकालीले बगाएको छ। महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्‍याएको छ।  

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। जिल्लाका बाढीपहिरो पीडितका लागि राहत लग्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। उनका अनुसार राहत बोकेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत हुँदै दार्चुला गएको छ। 

कमेन्ट लोड गर्नुस