सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता 

२०७९ भदौ २५, ०८:२६ खबर संवाददाता

धनगढी: शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।

स्थानीय पत्रकार श्याम धामीका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए।  शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। 

पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। 

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ।  स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म११ जना बेपत्ता भएको उनले जानकारी दिए। 

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए।  घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

कमेन्ट लोड गर्नुस