सुदूरपश्चिम सरकारले खेलाडीलाई दैनिक २ हजार भत्ता दिने
धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दैनिक २ हजारका दरले भत्ता दिने भएको छ।
प्रदेश सरकारको बजेटबाट परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणदेखि खेल सकिएको भोलिपल्टसम्म दैनिक २ हजारका दरले भत्ता दिने बताएको हो।
प्रतियोगितामा सुदूरपश्चिमबाट ७ सय बढी खेलाडी सहभागी हुने परिषद्ले बताएको छ। खण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिदैछ। सुदूरपश्चिम प्रदेशमा खेलाडी छनोटका लागि एक हजार २ सय ८३ पुरूष र ८ सय ७८ महिलालाई बन्द प्रशिक्षणमा बोलाइएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिँहले बताए।
यी मध्येबाट ७०९ जना खेलाडी गण्डकी जान छनोट हुने छन्। जसमध्ये एक सय ९४ जना खेलाडीले छनोट खेल्नु नपर्ने, सोझै छनोट हुने भएका छन्। असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा सहभागी हुन चाहने खेलाडीबाट आवेदन लिइएको थियो।
आवेदन दिएकामध्येबाट विभिन्न खेलका लागि आवश्यक संख्यामा खेलाडी छनोटको काम आगामी सातादेखि हुनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय र स्थानीय रेफ्री तथा निर्णायक गरी ४७२ जना खेल पदाधिकारी सहभागी हुनेछन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट १ हजार ४ सय ८१ जनाको टोली गण्डकी जानेछ।