सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको फैसला: रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

२०७५ फाल्गुन २२, ०१:३९ खबर संवाददाता

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ। 
सासंद चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, बृज मोहन डगौरा, राजेश चौधरी, विर वहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३(३) नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको हो। तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजायक तोकिएको छ। 

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएको छ। यि मध्ये चुन्कीराम बाहे ११ जनाले कैद भुक्तानी गरिसकेकाले उनीहरुलाई आजै छोड्न आदेश दिईएको छ।

यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिन आदेश दिईएको छ। यसै गरि करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ (२) बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले आजै थुना मुक्त गर्न आदेश दिईएको छ। यस्तै फरार रहेका ३१ जना मुद्धा मुल्तवमा रहने छ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस मंगलवार सकिएको थियो। वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए। 

घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा थिए। 

के हो टिकापुर घटना
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ६ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो तर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा विजयी हुँदै सासंदको सपथ खाईसकेका छन्। 
प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरि हत्या गरेका थिए। तत्कालीन समयमा मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित गराइएका थिए। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो। घटना भएको झण्डै एक महिना सम्म कैलाली जिल्लाका विभिन्न क्षेत्रमा कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस