सन्दीपको विषयमा छलफल गर्न क्यानको आकस्मिक बैठक बस्दै
काठमाडौं: नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आकस्मिक बैठक बोलाएको छ। गम्भीर आरोपमा मुछिएको हुँदा मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ।
क्यानका अध्यक्ष चतुरबहादुर संघले बसेर यस विषयमा निर्णय लिने बताए। ‘सन्दीपको विषयमा आइरहेका समाचारहरुप्रति हामी जानकार छौं, आजै बैठक बसेर छलफल गर्छौं,’ उनले भने।
सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोप सहित प्रहरीमा उजुरी दिएकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको छ।
काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।