प्रचण्डका ‘आफन्त’लाई कैलाली ल्याउन वन मन्त्रालयको चलखेल
धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आफन्तलाई सरुवा गर्न सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयले चलखेल गरेको छ।
गत वर्ष प्रदेश सरकारले डिभिजन वन कार्यालय धनगढीबाट डोटी वन डिभिजनमा सरुवा गरेका वन अधिकृत रामचन्द्र कँडेललाई फेरि कैलाली ल्याउन वन मन्त्रालयले चलखेल गर्न थालेको स्रोतको दाबी छ। डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत केशवराज पराजुलीलाई मन्त्रालय तान्ने र उनको ठाउँमा कँडेललाई ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ।
निजामती सेवा ऐनअनुसार सरुवा भएको दुई वर्ष नपुग्दै कुनै पनि कर्मचारीलाई फेरि सरुवा गर्न नपाउने नियम भए पनि वन मन्त्रालयले कँडेललाई राजनीतिक पहुँचको आधारमा कैलाली ल्याउन लागेको हो। तर कँडेलले भने उक्त विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्। उनी प्रचण्डका भान्जा ज्वाईं रहेको बताइएको छ।
गत साउन ३१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदले गरेको कर्मचारी सरुवामा बढी बजेट भएका भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लेखा अधिकृतको सरुवा गरेको थिएन। सरुवाको अवधि पूरा भएर पनि उनीहरूलाई आर्थिक लाभ लिन सहज हुने भएकाले मन्त्रालयमै राखिएको कर्मचारी स्रोतको दाबी छ।
वन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भएपछि मंगलबार वन सेवाका कर्मचारीको सरुवा गर्ने फाइल उठाएर स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको स्रोतको दाबी छ।
आचारसंहिता विपरीत कर्मचारी सरुवा गर्दै सुदूरपश्चिम सरकार, फाइल मुख्यमन्त्री कार्यालयमा