सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पत्रकारमाथि दुर्व्यवहार गर्ने दुई युवक पक्राउ

२०८२ पुष १, ०१:३७ खबर संवाददाता

धनगढीः धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनकी प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय मनीष श्रेष्ठ र धनगढी-४ घर भएका विकास भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा चन्दमाथि दुर्व्यवहार भएको हो। महोत्सवबारे क्यामेरामा बोलिरहेकै बेला पछाडिबाट आएका एक अपरिचित युवकले जानाजानी जोरले धक्का दिएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो।

पीडित चन्दको उजुरीका आधारमा प्रहरीले सोमबार साँझ आरोपीलाई पक्राउ गरेको हो। सोमवार पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई हाल धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी सह-प्रवक्ता काशिसिंह विष्टले जानकारी दिए। घटनामा संलग्न  विकास भट्टलाई भने मङ्गलवार घरबाटै नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समिति तथा कैलाली जिल्ला शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै सार्वजनिक स्थलमा पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय भएको बताएका छन्। महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि आघात पुग्ने यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

कमेन्ट लोड गर्नुस