सुदूर नेपाललाई विश्वसँग जोड्दै

आचारसंहिता विपरीत कर्मचारी सरुवा गर्दै सुदूरपश्चिम सरकार, फाइल मुख्यमन्त्री कार्यालयमा

२०७९ भदौ २१, ०५:५३ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगले भदौ २ गतेको प्रेस विज्ञप्ति जारी गर्दै २० गतेपछि कर्मचारी सरुवा नगर्न निर्देशन दिएको छ। आयोगले निर्वाचनको काममा खटिने कर्मचारीबाहेक संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा÷पदस्थापन भएका कर्मचारीहरुको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र कामकाज गर्न कामजमा पठाउने र सरुवा नगर्ने व्यवस्था गर्न भनेको छ।

तर सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मंगलबार सरुवाको सहमतिका लागि फाइल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाएको छ। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको आचारसंहिता विपरीत यसरी प्रदेश सरकारले कर्मचारी सरुवा गर्न थालेको हो। 

मन्त्रालयकै एक कर्मचारी भन्छन्, ‘कोठाको ढोका बन्द थियो। कति जनाको सरुवामा नाम छ भनेर जानकारी भएन। तर वन मन्त्रालयको कर्मचारी सरुवाको फाइल मुख्यमन्त्री कार्यालय गएको छ।’  यस विषयमा बुझ्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरतप्रसाद श्रेष्ठलाई सम्पर्क गर्दा उनको फोन उठेन।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक चलिरहेकाे छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, धनगढीका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीसँग सम्पर्क भएन। उनका सहयोगीले प्रमुख सचिव बैठकमा रहेको बताएका छन्। मुख्यमन्त्री कार्यालयका सचिव टुवराज पोख्रेलले सो विषयमा जानकारी नभएको प्रतिक्रिया दिए। 

स्रोतका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि भदौ २० गतेको मिति राखेर २१ गते मंगलबार कर्मचारी सरुवाको सूची सार्वजनिक गरेको छ। 


 

कमेन्ट लोड गर्नुस