सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बसाउने तयारी  

२०८२ पुष १, ०३:३६ रासस

धनगढीः भौतिक संरचनामा भएको क्षतिका कारण झन्डै तीन महिनादेखि अन्योल सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस पहिलो साता बस्ने भएको छ । 

सभा हल मर्मतको कार्य केही दिनभित्रै पूरा गरेर पुस पहिलो सातामै प्रदेश सभाको बैठक बसाउने तयारी गर्न लागिएको हो । सभा हल मर्मतको कार्य तीन/चार दिनभित्रै सकिने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। उनले मर्मत कार्य सकेर छ/सात दिनभित्रै प्रदेश सभाको बैठक बसाउने तयारी रहेको उल्लेख गरे।   

सभामुख भण्डारीले भने, “मर्मतको कार्य पूरा गर्न धेरै दिन लाग्दैन । छ/सात गते नै बैठक बस्ने तयारी छ ।” 

जेनजी आन्दोलनकारीले भदौ २४ गते प्रदेश सभा भवन, सचिवालय, विषयगत समितिका कार्यालय र राजनीतिक दलका संसदीय दलको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडले भएको क्षतिका कारण प्रदेश सभा बैठक सञ्चालन गर्न सकिएको छैन । त्यसअगाडि भदौ ५ गते सभाको बैठक बसेको थियो । 

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा भवनको पहिलो चरणमा सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत मर्मत कार्य भएको थियो । मर्मतमा १० लाख रुपियाँभन्दा बढी खर्च गर्न नमिलेका कारण आधाभन्दा बढी काम बाँकी रहेको थियो । 

सङ्घीय सरकारले विशेष परिस्थितिमा भएको भौतिक क्षति निर्माण गर्न ठेक्का दिन सकिने व्यवस्था गरेपछि दोस्रो चरणको मर्मतको काम भइरहेको छ । दार्चुलाको जगदम्बा निर्माण सेवाले ठेक्का पाएर मर्मतको काम गरिरहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। माथि सिलिङको काम पहिल्यै भइसकेको जानकारी दिँदै उनले वायरिङ, प्यानेल गर्ने र झ्यालको फुटेका सिसा फेर्ने काम भइरहेको बताए। 

विशेष परिस्थितिमा क्षति भएको संरचना पुनर्निर्माण गर्न सङ्घीय सरकारले नै ठेक्का आह्वान गरेको थियो । सुदूरपश्चिम प्रदेश सभा भवन पुनर्निर्माण गर्न २० लाख रुपियाँ बजेट रहेकोमा निर्माण कम्पनीले १३ लाख १८ हजार रुपियाँमा ठेक्का पाएर काम गरिरहेको सचिव बोगटीले बताए। 

प्रदेश सभामा अहिलेसम्म सभा भवनको मात्रै मर्मत गरिँदै छ । सचिवालय, विषयगत समितिका कार्यालयहरू, संसदीय दलका कार्यालयहरू मर्मत अझै बाँकी रहेको छ । बाँकी कार्यालयको मर्मतका लागि करिब ८० लाख रुपियाँ बजेट खर्च हुने अनुमान गरिएको छ । जसमध्ये आधाभन्दा बढी बजेट बाहिरबाट व्यवस्था भइसकेको सभामुख भण्डारीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस