‘पावरफूल’ आरजु, प्रतिनिधि सभामा ५ जिल्लाबाट सिफारिस
धनगढीः प्रधानमन्त्री पत्नी आरजु राणा ५ जिल्लाबाट सिफारिस भएकी छिन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राणा ५ जिल्लाबाट सिफारिस भएकी हुन्।
हालसम्म उनी कैलाली– ५ सँगै बाँके–३, बर्दिया–२, बागलुङ र गृह जिल्ला डडेल्धुराबाट समानुपातिकमा सिफारिस भएकी हुन्। डडेल्धुरा काँग्रेसले राणालाई भदौ १७ गते समानुपातिकमा सिफारिस गरेको थियो। भने, कैलाली काँग्रेसले उनै राणालाई भदौ १६ गते नै पुनः दोहर्याउने निर्णय गरेको थियो।
राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्षमा लडेकी राणा एमाले उम्मेदवार नारदमुनि रानासँग हारेकी थिइन्।
रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्। आरजुको नेपाली काँग्रेस भित्रको शक्ति र सदासयताका कारण उनलाई काँग्रेसले विकल्पका रुपमा विभिन्न ठाउँमा अवसर दिइएको काँग्रेसकै नेता तथा कार्यकर्ता बताउँछन्।
उनी नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत हुन।