सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक र व्यक्तिको निजी जग्गामा वर्षौदेखि कब्जा

२०७९ भदौ १६, ११:४८ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ सरोज आयल स्टोर र हुलाक सडकको उत्तरतिरको जग्गा मंगलबार नापजाँच गरियो। भूमि आयोग कैलाली र धनगढी उपमहानगरपालिकाको प्राविधिक समूहले फूलबारी बसपार्क क्षेत्रको उक्त जग्गा नापेको हो। 

चिरञ्जिवी चौधरी, अविनाश चौधरी र सुवासकिरण चौधरीको संयुक्त नाममा रहेको साढे १६ कट्ठा र सडकको जग्गा कब्जा गरेर बसेकाहरुले ऐलानी जग्गामा बसोबास गर्दै आएको भन्दै भूमि आयोगलाई जग्गा नाप्न लगाइएको थियो। जग्गामा बस्दै आएकाहरुले आफू ऐलानी जग्गामा बसोबास गर्दै आएको भन्दै भूमि आयोगमार्फत जग्गा नाीन लगाएका थिए। 

तर जग्गाधनी सरोज चौधरीका अनुसार तीन जनाको संयुक्त पुर्जा रहेको जग्गामा वर्षौदेखि २० परिवार बसोबास गर्दै आएका छन्। चौधरीका अनुसार कैलाली क्याम्पस जाने सडक बाङ्गो भएको भन्दै ६३७ नम्बर कित्ताको साढे सात कट्ठा जग्गामा नयाँ सडक निर्माण गरिएको थियो। क्याम्पस चोक हुँदै कैलाली क्याम्पस जाने सडक चौधरी परिवारको नाममा दर्ता थियो। पूराना बाङ्गो सडकको जग्गा चौधरी परिवारलाई दिने २०३८/०३९ का तत्कालिन अञ्चलाधीशले आश्वासन दिएका थिए। उल्टै पुरानो सडक र चौधरीको ६३८ दर्ता नम्बर भएको कब्जा गरिएको हो। 

त्यहाँ सडक निर्माणका लागि जग्गा दिएका चौधरी परिवारको जग्गा कब्जा गर्दै वर्षाैदेखि घर–टहरा निर्माण गरिएका छन्।  सडक र चौधरी परिवारको दर्ता जग्गामा २० परिवारको बसोबास रहेको छ। 

त्यसपछि संरचना निर्माण रोक्न माग गर्दै चौधरी परिवारले नगरपालिका र प्रशासनमा पनि निवेदन दिएका छन्। तर उनीहरुलाई दर्ता जग्गाबाट हटाउन सकिएको छैन। उक्त जग्गा हालसाविकपछि १०९९ कित्ता नम्बर छ। 

सडक र व्यक्तिको नाममा रहेको जग्गामा घर तथा संरचनाहरु निर्माण गरिएका छन्। उक्त क्षेत्रमा कब्जा गरेर बसेकाहरुलाई हटाउन जग्गाधनीले पटक–पटक उपमहानगरपालिका धाएका छन्। तर राजनीतिक संरक्षणमा रहेकाहरुले जग्गाबाट हट्न आनाकानी गर्दै आएका हुन्। हुलाकी सडकसँगै जोडिएको उक्त जग्गामा करोडौंका घर तथा संरचनाहरु निर्माण गरिएको जग्गाधनी दशिराम चौधरीले बताए। पटक–पटक नगरपालिकामा निवेदन दिएपनि कार्यान्वयन नभएको उनले बताए। 

भूमि आयोगले जग्गाको नाप सुरु गरेपछि चौधरीपरिवार सशंकित भएको छ। आयोगले आफ्नो नाम र सडकमा बसोबास गर्दै आएकाहरुको नाममा जग्गा दर्ता गर्ने चिन्ता चौधरी परिवारको छ।  तर धनगढी उपमहाअनगरपालिकाको नापी शाखा प्रमुख सुदर्शन धामीले नाप गरिएपनि दर्ता जग्गा पुनः दर्ता नहुने बताए। सडक र दर्ता जमिनमा बसोबास गर्दै आएकाहरुलाई हटाइने उनले बताए। 

यसरी नै धनगढीमा सडक तथा सार्वजनिक जग्गा कब्जा गर्दै निजी घर तथा भौतिक संरचनाहरु निर्माण गरिएका छन्। तर उपमहानगरपालिकाले कब्जा गरिएको जग्गा खाली गर्न सकेको छैन। 
                                                           


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस