कैलाली काँग्रेसले मानेन केन्द्रको निर्देशन, आकांक्षीबाटै रकम असुली
किन उठाइयो रकम ?
धनगढीः भदौं १३ गते अर्थात (हिजो) नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा पैसा नउठाउन निर्देशन दियो। केन्द्रीय कार्यालयले सोमबार जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पत्राचार गर्दै पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको थियो।
‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु÷उठाउनु विधानविपरीत कार्य हुने भएकाले त्यस्तो नगर्नू÷नगराउनू हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ।
तर, कैलालीमा भने नेपाली काँग्रेसले उक्त निर्देशन लत्याएको पाइएको छ। निर्देशन जारी भएकै दिन कैलाली काँग्रेसले केन्द्रको निर्देशन लत्याएको हो। काँग्रेस कैलालीका एक नेताका अनुसार केन्द्रको निर्देशनविपरीत कैलाली क्षेत्र नम्बर-५ र क्षेत्र नम्बर-४ मा उम्मेदवार बन्न आकांक्षीहरुबाटै रकम उठाइएको छ। क्षेत्र नम्बर-५ अन्तरगत प्रदेश सभा ‘ख’ मा आकांक्षी सिफारिस गर्दा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवारहरुबाट रकम उठाइएको हो।
प्रत्येक आकांक्षीबाट रु. ५ हजारका दरले रकम उठाइएको बताइएको छ। यहाँबाट जम्मा ४१ जना आकांक्षी सिफारिस भएका थिए। यस्तै क्षेत्र नम्बर ४ मा पनि आकांक्षीबाट रकम असुलिरहेको गुनासो आएको छ। त्यहाँ (संघीय निर्वाचन) प्रतिनिधि सभा सदस्यको आकांक्षीको हकमा २५ हजार र प्रदेश सभाको हकमा १५ हजारका दरले रकम उठाइरहेको बताइएको छ।
आकांक्षीहरुबाट रकम लिएको कुरा काँग्रेस कैलालीका सचिव नृप सुनारले पनि स्वीकारेका छन्।
नेता-कार्यकर्ताद्वारा आलोचना
यसरी केन्द्रको निर्देशनविपरीत रकम उठाउन थालेपछि काँग्रेसका अधिकांश नेता तथा कार्यकर्ताले विरोध जनाएका छन्। कैलाली काँग्रेसको नेतृत्वमाथि प्रश्न उठाउँदै उनीहरुको रकम उठाउनु गलत भएको जनाएका छन्। पार्टीको निर्देशन उलंघन गर्ने अधिकार कसैलाई नभएको र आकांक्षीहरुबाट उठाइएको पैसा फिर्ता गनुपर्ने उनीहरुको माग छ।
किन उठाइयो रकम ?
उपरोक्त विषयमा काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले आफूलाई पनि जानकारी आएको तर जिल्लाले नै रकम असुल्न नभनेको बताए। ‘हाम्रो खासगरि कुरा भनेको पैसाकै कारणले कसैले उम्मेदवार नहुन पाउने अवस्था निर्माण नहोस् भन्ने हो,’ सभापति भट्टले दिनेशखबरसँग भने, ‘तर पनि संगठन चलाउनुपर्छ, संगठनलाई सहयोग गर्नुपर्छ भन्ने कुरा थियो। अहिले खबर चाहिँ खराब आइरहेको छ। सामान्यतया पार्टी चलाउनका लागि केही खर्च चाहिन्छ। तर, त्यो जिल्लासम्म आउन पाउदैंन। जिल्लाले यस्तो निर्णय गर्न पनि मिल्दैन। हाम्रो विधानमा पनि यस्तो कुरा छैन।’