सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब म जीवनसाथी सँगै तीजको व्रत बस्छु

२०७९ भदौ १४, १२:४७ रक्षा भट्ट

तीजको व्रत बस्नुको धार्मिक–साँस्कृतिक कारण त तपाईँहरुले सुन्नु भएकै छ होला अथवा सबैलाई थाहा नै छ। भनिन्छ, सत्ययुगमा आजका दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरी व्रत बस्ने गरिन्छ। म यो धार्मिक कारणबारे बढी केही भन्दिन किनकी तपाईँहरुलाई थाहै छ, नभए रेडियो टिभीका समाचार आदिबाट पनि थाहा पाइहाल्नुहुन्छ।  

म आज तपाईँहरुलाई मैले तीजको व्रत बस्नु र नबस्नुको पछाडिको कारण सुनाउँछु। फेरि बस्नु पनि नबस्नु पनि कस्तो अनौठो भन्नुहोला। पूरै पढ्दै जानुस् थाहा पाउनुहुन्छ। मैले पहिलोपल्ट व्रत कक्षा ९ मा पढ्दाखेरि लिएकी थिएँ। किन व्रत हो, के–का लागि बस्ने, बसे के हुने आदि इत्यादि केही थाहा थिएन र पनि बसियो। 

जोडिमा व्रत बस्न राम्रो हुन्छ अनि यो वर्ष पहिलो व्रत बस्नेलाई राम्रो पनि छ भन्ने कुराहरु गरिएका सुनिन्थे। घरमा दिदी र म थियौँ। अनि दिदीले व्रत बस्न चाहेकी थिई। उसको पहिलो व्रत थियो, जोडीमा राम्रो हुने भनेपछि मलाई जोडी बनाउन सोचिहाली। दिदीले मलाई दुवै जना व्रत बसौँ भनी। 

गाउँका अरु केटीहरु पनि यो वर्ष पहिलो व्रत बस्नेलाई राम्रो छ भन्दै व्रत बस्ने भनिरहेका थिए। मलाई अचम्म के लागिरहेको थियो भने गाउँका ६/७ कक्षामा पढ्ने केटीहरु पनि व्रत बस्ने सुरमा थिए। मलाई लागिरहेको थियो कि सायद यसपछि व्रत बस्नु बेकार हो, पछि गएर यसरी पहिलो व्रत बस्नेका लाग राम्रो हुने दिन नआउन सक्छ। मैले मनमा धेरै प्रश्न भएपनि कसैसँग केही सोधिन। दिदीले सँगै व्रत बसौँ भनेर ढिपी गरेपछि पहिलोपल्ट व्रत बसियो। 

व्रत बस्दा बेग्लै रमाइलो अनि अनौठो पनि लागिरहेको थियो। एकातिर साह्रै ठुलो काम गर्दैछुँ भन्ने पनि लागिरहेको थियो। मम्मी मामाघर आउनुभएको थियो। घरमा दिदी र मैले सबै काम गर्नुपर्ने। दुवै जनाले काम पनि गर्यौँ। पानी नखाई व्रत पनि बस्यौँ। त्यतिबेलादेखि सुरु गरिएको व्रत निरन्तर गरियो। पोहोरसाल स्वास्थ्यमा समस्या हुँदा व्रत बस्न सकिन। व्रत छुट्यो। 

यो वर्ष फेरि पनि मैले व्रत बस्न पाइन। केही वर्षदेखि मलाई व्रत बस्न मैले हतार गर्न हुन्थेन जस्तो पनि लागिरहेको छ। यो व्रत महिला पुरुष दुवैले गर्न पाउँछन् रे। तर मैले त महिलाले मात्र व्रत बसेको देखिरहेकी छुँ। तीजको व्रतलाई परिवारको सुख, शान्तिसँग पनि जोडिएको छ। महिला पुरुष दुवैले चाहलान् यसो त। अनि अविवाहित केटी र केटाहरुले राम्रो वर र कन्याका लागि पनि व्रत बस्छन् रे !

मेरो विचारमा व्रत बस्न त तब राम्रो, रमाइलो अनि खुसी लाग्ला जब व्रत बसौँ भन्ने वा सँगै व्रत बस्ने साथी होला। या फेरि सँगै व्रत नबसे पनि व्रत बस्न उत्प्रेरित गर्ने साथी होला। जसले व्रतमा लगाउने लुगा, खाने फलफूल, चाहिने पूजा सामग्री ल्याइदिएर व्रतका लागि उत्साहित पारोस्। फेरि निर्जल, निराहार व्रत हो फलफूल भनियो भन्नुहोला। धर्मशास्त्रविद्हरुले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुने र सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताएका छन्। 

हामीले बस्ने व्रतमा पुरुष साथीले पनि सँगै व्रत बस्दा खुसी अझैँ बढ्छ होला। यो मेरो नितान्त व्यक्तिगत विचार हो। यस्तै हुन्छ वा हुनैपर्छ भन्ने छैन। तर मैले कल्पना गरेको चाहेको यही हो, कि पहिला जीवनसाथी मिलोस्। अनि दुवै जना मिलेर सँगै व्रत बसौँ। मैले व्रत बस्दा उसलाई खुसी लागोस् अनि उ व्रत बस्दा मलाई। मलाई व्रतमा आवश्यक पर्ने हरेक कुरामा उसलाई चासो होस् अनि मलाई पनि उत्तिकै। हामीलाई यो व्रतको व्यग्र प्रतीक्षा भइरहोस्। दुवै जनालाई एक अर्काको त्याग अनि समर्पणको उत्तिकै आभाष होस्।

मेरो विचार सबैलाई चित्त नबुझ्ला। तर पढ्दै गर्दा नमिठो पनि नमानि दिनुहोला है त। अनि आज व्रत बस्नुभएका सम्पूर्ण दिदीबहीनीमा तीजको शुभकामना। कोही पुरुष दाजुभाइ पनि बस्नुभएको छ भने उहाँहरुलाई पनि शुभकामना। अनि सम्पूर्णमा तीजको शुभकामना। यति मजाले पढिदिनुभयो धन्यवाद है त।
 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस