कैलाली–३ मा पूराना दललाई उन्मुक्तिको भय, गौरीशंकरको अवस्था कस्तो ?
धनगढीः सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषण गरेसँगै विभिन्न क्षेत्रका सम्भावित उम्मेदवारीबारे पनि चर्चा सुरु भएको छ। यस्तै चर्चा कैलाली क्षेत्र नम्बर ३ मा पनि चुलिएको छ।
प्रतिनिधि सभामा दुई पटक विजयी भएका पूर्व मन्त्री गौरीशंकर चौधरी नेकपा एमालेमा छन्। २०७० मा तत्कालिन कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र २०७४ मा क्षेत्र नम्बर ३ बाट विजयी भएका चौधरीका लागि यसपटक पूर्व सहकर्मी बाधक हुने देखिएका छन्।
चौधरीले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएपनि पूर्व सहकर्मीसमेत रहेका माओवादी तथा गठबन्धनका उम्मेदवार उनका लागि तगारो हुने निश्चित छ। उनका अगाडि पूर्व सहकर्मीसमेत रहेका सुदूरपश्चिमका कृषि मन्त्री विनिता चौधरी र प्रदेश सभा सदस्य वीरमान चौधरी बाधक हुने देखिएका हुन्।
पूर्व मन्त्री गौरीशंकर भने एमालेले अझै टिकटको निर्णय नगरेको बताउँछन्। उनले भने, ‘एमालेको बैठक सकिएको छ। को–कताबाट लड्ने पक्का भएको छैन। पार्टी केन्द्रले टुंग्याउने हो। हामी उम्मेदवार भएपनि नभएपनि हिँडिरहेका छौं, हिँड्छौ पनि।’
गौरीशंकरलाई पूर्व सहकर्मी बाधक हुने देखिए पनि अन्य राजनीतिक दलहरुलाई भने नागरिक उन्मुक्ति पार्टीको भय छ। स्थानीय तहको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएको नागरिक उनमुक्ति पार्टीका उम्मेदवारलाई अहिले अन्य पार्टीका उम्मेदवारहरुले चासोका साथ हेरेका छन्।
उता नेपाली काँग्रेसले भने कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धन नगर्ने संकेत गरेको छ। सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका आकाक्षी खेमराज चौधरी भन्छन्, ‘यहाँका कूल २६ मध्ये हामीले १९ वडा जितेको छौं। जनसंख्याका हिसाबले बढी, भोटको हिसाबले बढी नेपाली काँग्रेस छ। त्यसैले हाम्रो ३ नम्बर क्षेत्रमा गठबन्धन नगर्न विन्तीपत्र दिदैछौँ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट खेमराज चौधरी, माओवादी केन्द्रबाट विनिता चौधरी र वीरमान चौधरी, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरीको नाम चर्चामा छ। तर कुनै पनि राजनीतिक दलहरुले उम्मेदवारको टुंगो भने लगाएका छैनन्।
सुदूरपश्मि प्रदेशका कृषि मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी नेत्री विनिता चौधरीले भने पार्टीको निर्णय मान्ने बताइन्। ‘गठबन्धनको कुरा छ। भूगोल अझै टुंगो लागेको छैन। पार्टीको निर्देशनमा चल्ने हो,’ उनले भनिन्।