सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्नीको रिसले एक महिनादेखि रुखमै बास, त्यहीँ खानपिन !

२०७९ भदौ १२, १२:३५ खबर संवाददाता

धनगढीः लोग्नेस्वास्नी बीच ससाना नोकझोंक हुनु अनौठो होइन। तर लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैं रिस शान्त भएसँगै झगडा साम्य हुन्छ। कहिलेकाही मनमुटाव लामो समयसम्म पनि चलिरहेको हुन्छ। एकै घरभित्र बसेर पनि कतिपय पति पत्नी कैयन् दिनसम्म बोलचाल नै बारेका हुन्छन्। यस्तै एउटा घटना छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा भएको छ।

पत्नीको रिसका कारण ती व्यक्ति पछिल्लो करिब एक महिनादेखि एक सय फिट अग्लो ताडको रुपमा चढेका छन्। उनले रुखमा नै ओछ्यान लगाएर सुत्ने र त्यहीँ नै खानपिन गर्ने गरेका छन्।

उत्तर प्रदेशको मउ जिल्लास्थित बसारथपुर गाउँमा यो घटना भएको हो। त्यहाँका रामप्रवेश नामका एक व्यक्ति पछिल्लो एक महिनादेखि गाउँमा रहेको एउटा एक सय फिट अग्लो ताडको रुपमा बसिरहेका छन्। ती व्यक्तिप्रति गाउँलेहरू आक्रोशित बनेका छन्। उनको बारेमा प्रहरीमा जानकारी दिइएको छ र प्रहरीले त्यसको भिडियो बनाएर लगेको छ।

एक रिपोर्ट अनुसार रामप्रवेश अहिले पनि रुखमै बसिरहेका छन्। स्थानीय मानिसहरुका अनुसार यदि कसैले उनलाई सम्झाउने र तल झार्ने प्रयास गर्‍यो भने रामप्रवेशले रुखमा राखेका इँटा र ढुंगाले आक्रमण गर्दछन्। त्यसैले त्यो रुखको नजिक गएर उनलाई सम्झाउने आँट पछिल्लो समय कसैले गर्न सकेका छैनन्।

एक महिनासम्म रुखमा बसेर उनले के खाए होलान् ? भन्ने लाग्नु स्वभाविकै हो। तर उनका लागि खानपिनको व्यवस्था चाहिं उनकै घरबाट भएको छ।परिवारकै सदस्यहरुले उनलाई खाना र पानी ल्याइदिने गरेका छन्। रुखबाट उनले रस्सी तल झार्दछन् र त्यहीँ रस्सीमा परिवारले उनको लागि खानेकुराको झोला बाँधिदिन्छन्। गाउँलेहरुका अनुसार रामप्रवेश रातमा रुखबाट झर्दछन् र दिसापिसाब लगायतका आफ्ना अन्य क्रियाकलाप गरे पुनः रुखमा चढ्दछन्। रामप्रवेश ताडको रुखमा चढेर एक महिनादेखि बस्दा उनको परिवारलाई मात्र होइन पूरै गाउँलाई समस्या भएको छ। गाउँको बीचमा रहेको अग्लो ताडको रुखमा उनी चढेर बसेपछि गाउँलेहरुको गोपनियतामै असर परेको छ । उक्त ताडको रुख निकै अग्लो भएकाले त्यसमा चढेपछि गाउँका सबैजसो घरका आँगन देखिन्छ।

घरभित्र र बाहिरका क्रियाकलाप समेत उनले देख्ने गरेको गोपनियतामा असर परेको भन्दै गाउँका महिलाहरुले पनि प्रहरीमा उजुरी दिएका छन्। रामप्रवेश यसरी एक महिनादेखि रुखमा बसोबास गर्नुको कारण पत्नीसँगको झगडा रहेछ। उनका बुवा विशूनरामका अनुसार बुहारी माइतीबाट घर आएको दिन सधैं छोरा रामप्रवेशसँग झगडा पर्दछ। कहिलेकाहीँ त बुहारीले छोरालाई कुटपिट समेत गर्ने गरेको उनी बताउँछन्।

पत्नीको त्यस्तो हर्कतबाट बेखुस भएर तथा पत्नीको कुटाइबाट बच्नका लागि उनी एक महिनादेखि घर छाडेर रुखमा बस्न थालेको विशूनराम बताउँछन्।

एजेन्सी

कमेन्ट लोड गर्नुस