धनगढीमा निर्माणाधीन सहिद गेट–क्याम्पस गेट सडकको क्षेत्राधिकार खाली भएन
धनगढीः सहिद गेट–क्याम्पस गेट सडकको केही भागमा कालोपत्रको काम भएको छ। क्षेत्रीय सहरी विकासमार्फत निर्माण थालिएको सडकको सहिद गेट क्षेत्रमा कालोपत्र गरिएको छ। तर, उक्त सडककै तारानगर चोकको विवाद भने अझै समाधान भएको छैन।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर चोकमा डिजाइनविपरीत नाली बाँगो बनाइएको छ। साविकको सडकमै पर्ने घर भत्काइएको छैन। सडक निर्माणको ठेक्का पाएको कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले तारानगर क्षेत्रको विवाद समाधान नभएको बताए।
संघीय सरकारको क्षेत्रीय सहरी विकासमार्फत निर्माण थालिएका सडकको क्षेत्राधिकार खाली गर्ने दायित्व उपमहानगरपालिकाको हो। धनगढी उपमहानगरपालिका, क्षेत्रीय सहरी विकास, निर्माण कम्पनी र घर तथा जग्गा धनीहरुबीच पटक–पटक छलफल हुने गरेको छ। तर छलफल तथा निर्णयको औचित्य देखिएको छैन। सहिद गेट–क्साम्पस गेट सडकसँगै गुल्म चर्च सडकमा पनि क्षेत्राधिकारको विवाद रहेको खरेलले बताए।
सडकमा विभिन्न व्यक्तिको प्रभावको कारण नाली बाङ्गोटिङ्गोे निर्माण गरिएको छ। नक्सा अनुसार सडक निर्माण गर्न जग्गा तथा घरधनिहरुले अवरोध गर्दै आएका छन्। नक्सा पास नभएको, सडक क्षेत्रमा रहेको घर बचाउन तारानगरमा उत्तरतिर बढी च्यापिएको आरोप स्थानीयको छ।
पटक–पटक स्थानीयसँग छलफल थालेको उपमहानगरपालिकाले समाधान गर्न सकेको छैन। धनगढी उपमहानगरापलिकाका नगर प्रमुख गोपाल हमालले पटक–पटक घरधनीलाई आग्रह गरिएको बताए। फेरि सो विषयमा छलफल गर्ने उनले बताएका छन्।
क्षेत्रीय सहरी विकास आयोजनाले धनगढीका ७ सडक कालोपत्रे गर्दै छ। १० किलोमिटर बढी सडक निर्माणको चरणमा छन्। तर अधिकांश सडकमा क्षेत्राधिकारको समस्या छ। क्षेत्राधिकार खाली नभएको भन्दै निर्माण कम्पनीले निर्माणलाई गति दिएको छैन।