टनकपुर निर्यात हुँदै दोधारा चाँदनीको दुध
वीरेन्द्र भट्ट, धनगढीः महाकाली पारीको नेपाल अर्थात कञ्चनपुरको दोधारा चाँदनीबाट संकलित दुध भारतको टनकपुरमा खपत हुने गरेको छ। दोधाराबाट मात्रै दैनिक २ हजार लिटर दुध टनकपुरमा खपत हुने गरेको हो।
भारतसँग सीमा जोडिएका किसानले भारतमै दुध खपत गर्दै आएका छन्। उत्पादित दुध सदरमुकाम महेन्द्रनगर तथा अत्तरियाभन्दा टनकपुर नजिक भएकाले उतै दुध विक्री गर्ने गरेको दोधारका किसान उत्तम कडायतले बताए। ‘उतैबाट दुध संकलक आउने र कतिपय अवस्थामा आफैले पनि टनकपुर दुध पुर्याउनुपर्ने हुन्छ’ उनले भने।
दुध संकलन र प्रशोधन गरेर आन्तरिक आपूर्ति सहज बनाउने लक्ष्यसहित कैलालीको अत्तरियामा स्थापना गरिएको धनगढी दुग्ध वितरण केन्द्रले दुरदराजका किसानको दुध संकलन गर्न सकेको छैन। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) अन्तरगतको केन्द्रले नजिकका स्थानबाहेक केन्द्रले दुध संकलनमा चासो नदिएको गुनासो छ।
घाटा व्यहोर्दै दुग्ध प्रशोधन कारखाना
अत्तरियामा डीडीसीको दुग्ध प्रशोधन कारखाना नै स्थापना गरिएको भएपनि सो कारखानाको घाटा बढेर एक करोड ८० लाख पुगेको छ। दैनिक चार हजार लिटर दुध संकलन गर्दै आएको केन्द्रले हाल २ हजार २ सय लिटरको हाराहारीमा मात्र दुध संकलन गरेर प्रशोधन गर्दै आएको देखिएको छ। ढुवानी र कर्मचारीको भारका कारण केन्द्रले वर्षेनि नोक्सानी व्यहोर्दै आएको छ।
डडेल्धुराको आलिताल, कैलालीको लम्की तथा कञ्चनपुरको बेलौरीबाट सबैभन्दा बढी दुध संकलन गर्दै आएको केन्द्रले गत आर्थिक वर्षमा साढे ११ लाख लिटर दुध संकलन गरेको थियो। यस्तै चालु आर्थिक वर्षमा साढे १२ लाख दुध संकलन गर्ने लक्ष्य छ। दुध संकलन र बिक्रीबाट वार्षिक झण्डै ६ करोडको कारोबार गर्दै आएको केन्द्रले १० वर्षको अवधिमा कुनै पनि वर्ष नाफा कमाउन सकेको छैन।
अहिलेकै अवस्थामा धनगढी दुग्ध वितरण केन्द्र नाफा जान सकिने अवस्था नदेखिएको वितरण केन्द्रका संकलन प्रमुख चन्द्रमोहन लेखकले बताए। ‘केन्द्र अन्तरगत महिनामा करिब एक करोडको दुग्धजन्य पदार्थको कारोबार हुने गरेको भएपनि ढुवानी र कर्मचारी भारका कारण नाफामा लैजान सकिने अवस्था छैन’ उनले भने।
धनगढी दुग्ध वितरण केन्द्र अन्तर्गत २ वटा चिस्यान केन्द्र छन्। एक घण्टामा एक हजार लिटर दुध प्रशोधन क्षमताको प्लान्ट दुग्ध वितरण केन्द्रसँग रहेपनि दैनिक २ हजार ५ सय लिटर मात्र दुध प्रशोधन हुँदै आएको छ।
दुध संकलन तथा कारोबार वर्षेनि बढ्दै गएपनि आम्दानी भने घट्दै गएको दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख विकल श्रेष्ठले बताए। ‘अहिले दुधको उत्पादन कम छ, सिजनमा दैनिक ८ देखि १० हजार लिटर दुध संकलन गरेर पोखरा निर्यात गर्ने गरेका छौँ’ उनले भने, ‘यो वर्ष पनि नाफा कमाउने लक्ष्य छैन।’
दुग्ध पदार्थको बजारीकरणमा असन्तुलन भएपछि सुरुवातमै डीडीसी अन्तर्गतको धनगढी दुग्ध वितरण केन्द्रले घाटा व्यहोर्नु परेको छ। कच्चा दूध संकलनमा कमी, धुलो दूध र मख्खनको मौज्दात कम भएकाले समस्या भएको केन्द्रले जनाएको छ।
कर्मचारीको तलबवृद्धि लगायत कारण आयोजना घाटामा छ। बजार विस्तार र पूर्वाधार विकास हुन नसक्दा व्यापार बढ्न सकेको छैन। नयाँ क्षेत्र विस्तार र पूर्वाधारमा सरकारले लगानी गरे निजी क्षेत्रसँग प्रतिस्पर्धामा रहेर काम गर्न सकिने केन्द्रले जनाएको छ। बजार सुधार हुन नसके संस्थान टाट पल्टिने खतरामा छ।
सुख्खा मौसममा कैलाली, कञ्चनपुर र डडेल्धुराबाट संकलित दुध आन्तरिक रुपमै खपत हुने गरेको छ भने असोजदेखि चैतसम्म संकलित दुध पोखरा निर्यात हुने गरेको छ।