अछाममा यस्तो पनि, गाउँपालिकाका अधिकृत ४ दिनमै यताउता
धनगढीः अछाममा कर्मचारी सरुवामा रोचक दृश्य देखा परेको छ। जिल्लाको रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी काज सरुवामा रोचक बनेको हो। उनको काज सरुवा भएको ४ दिनमै फिर्ता भएपछि अछाममा अहिले तरंग ल्याएको छ।
भाद्र १ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम ती अधिकृत भण्डारीलाई बाजुराको हिमाली गाउँपालिकामा पठाएको थियो। तर, मन्त्रालयले भाद्र ५ गते फेरि भण्डारीलाई काजबाट फिर्ता बोलाएर पुनः रामारोशनमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न भनेको छ। काज सरुवाको चार दिनमै पुनः फिर्ता भएपछि यो घटना रोचक बनेको हो।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र ती अधिकृत बीचको आपसी विवादका कारण काज सरुवा भएको गाउँपालिकाको कर्मचारी स्रोतले जनाएको छ। अधिकृतले पालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई भान्सेको जागिर दिएको कुरा दिनेशखबरलाई जानकारी दिएपछि उनीहरुबीच खटपट भएको बताइन्छ। तर, अहिले सहमति भएर फर्किएको स्रोतको दाबी छ। रामारोशनमा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादीबाट निर्वाचित भएका थिए।