दार्चुलामा छैन बसपार्क, सडकमै पार्किङ
धनगढीः दार्चुलाको गोकुलेश्वर बजारमा सवारी चाप बढेको बढ्यै छ। बसपार्कसमेत नभएको गोकुलेश्वर बजारमा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ। जसका कारण सवारी दुर्घटनाको जोखिम बढाएको छ।
गोकुलेश्वरमा सवारी आवतजावत हुन लागेको २ दशक पुग्न लाग्दासमेत बसपार्कको व्यवस्था हुन नसकेको हो। एक लेनको मात्रै भएकाले साँघुरो सडकमै गाडी पार्किङ गर्दा आवतजावतमा समस्या र दुर्घटनाको जोखिम बढेको स्थानीयहरू बताउँछन्। शैल्यशिखर नगरपालिकाको केन्द्रसमेत रहेको गोकुलेश्वरमा जिल्ला भित्रिने र बाहिरिने सवारीसाधन रोकिने गर्छन्। तर, पार्किङ गर्न बसपार्क नहुँदा ट्राफिक जाम बढ्ने गरेको छ। जसका कारण व्यापार व्यवसायसमेत मारमा परेको स्थानीय व्यवसायीको भनाइ छ।
अहिले सडक दायाँबायाँ, होटल, स्थानीयका घरअगाडि सवारी पार्किङ हुँदै आएका छन्। बजारमा भइरहेको अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।