सुदूर नेपाललाई विश्वसँग जोड्दै

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका धेरै कामदार सकुशल, उद्धार कार्य जारी

२०८३ भदौ ११, ०४:४९ खबर संवाददाता

रसुवा: बाढी र पहिरोका कारण रसुवाको हाकु क्षेत्रमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा ठूलो संख्यामा नागरिक तथा श्रमिक फसेको आशंका गरिएको छ। पछिल्लो विवरणअनुसार सुरुङभित्र रहेका केही नागरिकसँग सम्पर्क स्थापित भएको र उद्धार प्रयास जारी रहेको जनाइएको छ।

जुम्लाका अमर विष्टलगायतलाई नेपाली सेनाका ब्रिगेडियर अनुपजङ्ग थापाको सहकार्यमा हाकु–२१६ जेबी सुरुङमार्गसम्म पुर्‍याइएको छ। अमर विष्टसँग निरन्तर सम्पर्कमा रहेको र उनले सुरुङभित्र धेरै नागरिक सकुशल फेला परेको जानकारी दिएको दाबी गरिएको छ। थप उद्धार कार्य पनि जारी रहेको जनाइएको छ।

यसअघि जुम्लाबाट कामका लागि रसुवाको हाकुस्थित २१६ मेगावाटको जलविद्युत् आयोजनामा पुगेका तीन दर्जनभन्दा बढी श्रमिक बाढीपछि सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। उनीहरू आयोजनाको ड्याम साइटमा काम गरिरहेको बताइएको थियो।

‘हाकु–२१६’ भनेर चिनिने संरचना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना हो। स्थानीयस्तरमा यो आयोजना २१६ मेगावाट भएकाले ‘२१६’ नामले समेत चिनिन्छ। आयोजनाको बाँध तथा सम्बन्धित संरचना हाकु क्षेत्रमा छन् भने भूमिगत विद्युत्गृह उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको छ।

उद्धारका लागि सुरक्षा निकाय परिचालन

रसुवाको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि सुरक्षा निकाय परिचालन भएको छ। यसै क्रममा हाकु–२१६ सुरुङभित्र ३०० भन्दा बढी व्यक्ति फसेको जानकारी प्राप्त भएको र सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार प्रयास सुरु गरिएको छ। यद्यपि सुरुङभित्र कति जना छन्, कति जना सकुशल उद्धार भइसकेका छन् र कति जना अझै सम्पर्कविहीन छन् भन्ने यकिन आधिकारिक संख्या सार्वजनिक भइसकेको छैन। 

यसबीच आफ्ना आफन्तको अवस्थाबारे चिन्तित परिवारलाई धैर्य गर्न आग्रह गरिएको छ। सुरुङ तथा आसपासको क्षेत्रमा उद्धार र खोजी कार्य निरन्तर जारी रहेको र सम्भव भएसम्म सबै नागरिकलाई सकुशल उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस