धनगढीमा चारदिने ‘गौरा प्रशिक्षण–२०८३’ सम्पन्न
धनगढी: सुदूरपश्चिमको मौलिक पर्व गौरा संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको धार्मिक र सांस्कृतिक महत्व हस्तान्तरण गर्ने उद्देश्यले धनगढीमा आयोजित चारदिने ‘गौरा प्रशिक्षण–२०८३’ सम्पन्न भएको छ।
विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेको प्रशिक्षण धनगढीको एलएन चोकस्थित गीता सत्संग भवनमा सञ्चालन भएको थियो। प्रशिक्षणमा गौरा पर्वको मौलिकता, पूजा विधि, धार्मिक तथा सांस्कृतिक महत्व, परम्परागत संस्कार, भेषभूषा र संरक्षणका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो।
आयोजकका अनुसार आधुनिकताको प्रभावसँगै गौरा पर्वको मौलिकता र परम्परा कमजोर हुँदै जाने जोखिम बढेकाले नयाँ पुस्तालाई यसको महत्व र परम्परागत विधिबारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो। गौरा पर्वलाई व्यवस्थित र मौलिक स्वरूपमा पुस्तान्तरण गर्न प्रशिक्षणले सहयोग पुग्ने अनुमान गरिएको छ।
प्रशिक्षणमा गौरा पर्वसँग सम्बन्धित जानकार तथा प्रशिक्षकहरूले धार्मिक, सांस्कृतिक र बौद्धिक पक्षबारे प्रशिक्षण दिएका थिए। प्रमुख प्रशिक्षक जानकीदेवी बिष्टसँगै नारायणीदेवी बिष्ट र भुवनेश्वरी चैसिरले प्रशिक्षण प्रदान गरेका थिए।
त्यस्तै, बौद्धिक तथा धार्मिक महत्वका विषयमा प्राज्ञ वासुदेव पाण्डे, पद्मराज जोशी, भक्तराज जोशी र सत्यराज अवस्थीले प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सचिव तथा प्रमुख अतिथि महेन्द्रराज पन्त, कार्यक्रम संयोजक एवं नगर अध्यक्ष कर्णबहादुर जप्रेल, प्रशिक्षक जानकीदेवी बिष्ट, सत्यराज अवस्थी, मिना पनेरु र पुजन भट्टलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले गौरा पर्वसँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्परा, पूजा विधि र मौलिक संस्कारबारे जानकारी प्राप्त गरेको बताएका छन्। आयोजकले आगामी पुस्तालाई गौरा पर्वको मौलिकता र परम्परासँग जोड्दै यसको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर पहल गर्ने जनाएको छ।
सुदूरपश्चिमको पहिचानसँग जोडिएको गौरा पर्वको संरक्षणका लागि प्रदेश सरकार तथा सम्बन्धित निकायले समेत आवश्यक पहल गर्नुपर्नेमा कार्यक्रमको उधेश्य रहेको छ।