सुदूर नेपाललाई विश्वसँग जोड्दै

के होला कैलाली ५ मा ? टिकटका लागि लबिङमा ओझा, नपाए स्वतन्त्र लड्ने

२०७९ भदौ ३, ०७:३४ कमल सावद

धनगढीः कैलाली काँग्रेसमा परिचित नाम हो, पुष्करनाथ ओझा। ओझा अहिले पार्टीको अनुशासन मिचेको भन्दै कारबाहीमा परेका छन्। २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस नेत्री आरजु राणा देउवालाई हराउन भूमिका खेलको भन्दै उनलाई कारबाही गरिएको थियो।

पूर्व मन्त्रीसमेत रहेका ओझाले अहिले कैलाली क्षेत्र नम्बर ५ का लागि काँग्रेसबाट टिकट पाउने वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने चर्चा सुरु भएको छ। सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरेसँगै ओझा टिकटको लबिङका लागि संघीय राजधानीमा छन्। उनी निकट एक नेताले दिनेशखबरसँग भने, ‘उहाँ काठमाडौं जानुभएको छ। चुनाव चै लड्नुहुन्छ। तर पार्टीबाट वा स्वतन्त्र के हुन्छ ? त्यही पार्टीका लागि जीवन सर्मपित गरेका छन्। पार्टीबाट चुनाव लड्ने चाहना छ उनको। पार्टीले टिकट दिएन भने स्वतन्त्र पनि चुनाव लड्छन।’  नेपाली काँग्रेसले कारबाही फुकुवा गर्दै टिकट दिएमा पार्टीको चुनाव चिह्न र नभए स्वतन्त्र उम्मेदवारी दिने दाउमा ओझा देखिएका हुन्। उनले आफु सर्मथक नेता–कार्यकर्ताहरुसँग छलफल पनि थालेका छन्।

तर कैलाली काँग्रेसलाई भने कारबाही फुकुवा र टिकटका लागि कुनै समन्वय नगर्न उनले आग्रह गरेका छन्। काँग्रेस कैलालीले केन्द्रमा सिफारीस नगरेमा ओझामाथिको कारबाही फुकुवा हुने सम्भावना न्यून देखिएको छ। कारबाही फुकुवा नभए उनी स्वतन्त्रको हैसियतबाटै प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा होमिनेछन्। नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टले भने, ‘मैले फोनबाट कुरा गरेको थिए। "के छ त तपाईको कुरा अगाडि बढाउ ? केन्द्रिय सभापति जीसँग" भन्दा तपाईं कुरा नगर्नुहोला भन्नुभयो। अनि मैले कुरा अगाडि बढाएन।’

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुलाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हराउन भूमिका खेलेको आरोप लागेका ओझा पुनः उनकै लागि बाधक हुने देखिएका छन्। २०७० सालको उपनिर्वाचनमा विजयी भएका ओझा २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट आरजुलाई टिकट दिएपछि रुष्ट भएका थिए। पाँच वर्षदेखि उनी राजनीतिमा सक्रिय थिएनन्। तर चुनाव घोषणा भएसँगै उनले राजनीतिक गतिविधि बढाएका छन्। ओझाले स्वतन्त्र उम्मेदवारी दिए, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा त्रीपक्षीय भिडन्त हुने देखिएको छ।

नेपाली काँग्रेसबाट आरजु राणा देउवा, नेकपा एमालेबाट नारदमुनी राना र स्वतन्त्रबाट पुष्करनाथ ओझाबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। पूर्व मन्त्री तथा नेकपा एमालेका नेता नारदमुनी रानाले पार्टीले अझै निर्णय नगरेको बताए। तर उनले कैलाली ५ बाट पुन: निर्वाचनमा भाग लिने इच्छा देखाएका छन्।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको साथ भएकालाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी हुन सहज हुने आकनल गर्न थालिएको छ। तर रेशम चौधरी पत्नी रञ्जीता श्रेष्ठ चौधरीको नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार तथा सर्मथनले पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचनमा प्रभाव पार्ने देखिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस