सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आइरहेको गाउँपालिकाको गाडी डोटीमा दुर्घटना, अध्यक्ष भन्छन्, ‘थाहा छैन’ 

२०७९ भदौ ३, ०२:३९ खबर संवाददाता

धनगढीः डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ। शुक्रबार बिहान बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जीप दुर्घटना भएको हो। 

धनगढीतर्फ आइरहेको गाउँपालिकाको जीप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जीप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मानविय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ। 

एक वडाध्यक्ष र व्यापारीहरु थिए सवार 
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला काठमाडौंमा छन्। उनले आफू काठमाडौंमा भएको र आफूले प्रयोग गर्ने गाडी ठोक्किएको विषयमा कुनै जानकारी नै नआएको बताएका छन्। ‘मलाई थाहा छैन। मलाई नसोध्नुस्’ उनले भने। 

यस्तै गाउँपालिकाकी उपाध्यक्ष विष्नादेवि देउवाले पनि गाडी एक वडाध्यक्षले लगेको मात्रै थाहा पाएको बताइन्। उनले मलाई सबै कुरा थाहा नै हुदैन, अध्यक्षलाई सोध्नुस् भन्दै अन्जान बनिन्। तर, सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत बहादुर चन्दले भने हालै सो गाडीको चालक परिवर्तन गरिएको र हिजो पालिकाको कार्यालयबाट गाडी लगिएकोमा आज दुर्घटना भएको जानकारी दिए। हिजो बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष चन्द्रभान सुनार उक्त जीप ल्याएर धनगढीतर्फ हँुइकिएका थिए।  

स्रोतका अनुसार पुराना गाडी चालकलाई हटाएर अध्यक्ष गड्सिलाले आफ्ना नातेदार देव बहादुर गड्सिलालाई हालै नयाँ चालकको रुपमा राखेका थिए। उनले गाडी (जीप) चलाएको एक हप्ता नबित्दै दुर्घटना भएको हो। सो जीपमा पालिका अध्यक्ष, वडाअध्यक्षका आफन्त तथा व्यापारीहरु समेत सवार थिए। अहिले गाडी मर्मत गरेर पनि आफूहरु धनगढी आइरहेको वडाध्यक्ष सुनारले बताए। 

कमेन्ट लोड गर्नुस