कैलालीका बाढीपीडित किसानका लागि आएको ५ करोड फिर्ता
धनगढीः गत वर्षको कात्तिक पहिलो साता आएको बाढीका कारण पीडित किसानको राहतका लागि संघीय सरकारबाट कैलालीमा २२ करोड ३६ लाख आएको थियो। त्यसमध्ये जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ ओटै स्थानीय तहमा २१ करोड ९७ लाख निकासा पठाएको थियो। तर निकासा भएको सबै रकम वितरण गरिएको छैन।
कैलालीका स्थानीय तहहरु बाढीपीडित किसानलाई राहत वितरणमा पनि असफल देखिएका छन्। जिल्लाका स्थानीय तहबाट पाँच करोड १४ लाख ७१ हजार फिर्ता आएको छ। भने, अझै ४९ लाख १४ हजार फिर्ता आउन बाँकी छ।
धनगढी उपमहानगरपालिकाले मात्रै एक करोड ९० लाख ४५ हजार फिर्ता पठाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांक अनुसार घोडाघोडी नगरपालिकाबाट एक करोड पाँच लाख, भजनी नगरपालिकाबाट ८० लाख ९३ हजार, लम्की चुहाबाट ५७ लाख ३७ हजार, मोहन्याल गाउँपालिकाबाट एक लाख ३० हजार फिर्ता आएको छ।
यस्तै कैलारी गाउँपालिकाबाट ४९ लाख ८२ हजार, चुरे गाउँपालिकाबाट ९ लाख नौ हजार, गौरीगंगा नगरपालिकाबाट १९ लाख ९९ हजार र टीकापुर नगरपालिकाबाट एक हजार रकम फिर्ता आएको छ।
जिल्लाका ५९ हजार २ सय ४५ किसानका लागि वितरण गर्न संघीय सरकारले पठाएको राहत रकम वितरण गर्न जिल्लाका स्थानीय तह असफल भएका छन्। अझै स्थानीय तहले पेश्की लिएको ४९ लाख १४ हजार चार सय ४७ रुपैयाँ फिर्ता आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय तहले १६ करोड ६२ लाख ८१ हजार सात सय ४० रुयैयाँ मात्र वितरण गरेका छन्।