सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै निर्वाचन क्षेत्रमा गठबन्धका तीन नेताको दृष्टि, के होला डोटीमा ?

२०७९ साउन ३१, ०५:२१ रोशन भट्ट

धनगढीः सरकारले मंसिर ४ गतेलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मिति तोकेपछि डोटीमा उम्मेदवारको चर्चा सुरु भएको छ। विशेषगरी सत्ताधारी गठबन्धनमा बलियो मानिएका नेताहरुको निर्वाचन क्षेत्र एकै परेपछि झनै चर्चा चुलिएको हाे। 

प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा पनि टिकटकै बारेमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायरको गृह जिल्ला डोटी हो। उनी पनि डोटीबाटै चुनाव लड्ने हल्ला काँग्रेस वृतमा सुरु भएको छ। २०७० को संविधान सभा निर्वाचन जितेरै एकपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बलायर बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्। 

भरखरै सम्पन्न स्थानीय तहको चुनावमा ९ पालिका रहेको डोटीमा सात ओटा काँग्रेसले जितेको थियो। सोहीकारण बलायरले डोटीमा टिकट पाउने बताएका छन्। उनी भन्छन्, ‘गठबन्धनका दललाई पनि थाहा हुन्छ। नेताहरुलाई पनि थाहा हुन्छ। कसको हाइट, वोइट, कसको क्षमता कति छ भनेर। यो कुरा सबैलाई थाहा छ। बलियो पार्टीको पक्षमा निर्णय हुन्छ।’ 

वन मन्त्री हुँदा ‘भाइरल’ बनेर देशैभर परिचित भएका प्रेमबहादुर आलेको निर्वाचन क्षेत्र पनि डोटी हो। पछिल्लो पटक पर्यटन मन्त्री हुँदा केही राम्रा काम गरेर चर्चा कमाएका आले अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छन्। २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका उनै आले ०७० को चुनावमा विजयी भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा हालका काँग्रेस प्रदेश सभापति बलायरलाई हराउने पनि तिनै आले हुन्।

चुनाव जित्ने खुबी भएका आले समाजवादीका प्रभावशाली नेताका रुपमा चिनिएका छन्। गठबन्धनमै रहेका उनले पनि डोटीमा आफ्नो विकल्प नभएको दाबी गरिरहेका छन्। एकीकृत समाजवादी डोटीका जिल्ला अध्यक्ष दीर्घ बोगटीले डोटीबाट प्रतिनिधि सभाको उम्मेदवार आले नै रहने दाबी गरे। ‘अहिले अन्य पार्टीले आफ्नो दाबी गर्नु स्वभाविक हो,’ उनले भने, ‘गठबन्धनमा बसेपछि त्यसले गरेको निर्णय सबैले मान्नुपर्छ।’

सुदूरपश्चिमका प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रका नेता हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘प्याराे’ मानिएका उनी सुदूरपश्चिमका पहिलो मुख्यमन्त्री पनि हुन्।  उनी २०७४ को प्रदेश सभा निर्वाचनमा डोटी ‘ख’ बाट निर्वाचित भएका थिए। २०६४ र ०७० को निर्वाचनमा लगातार पराजित भएका भट्ट ७४ मा भने बाम गठबन्धनबाट विजयी भएका थिए। 

आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उनले पनि केन्द्रमै चासो देखाएका छन्। माओवादी केन्द्रका अनुसार प्रदेश मुख्यमन्त्री भइसकेका भट्ट अब संघमा चुनाव लड्ने कसरतमा छन्। माओवादी केन्द्र पनि सत्ता गठबन्धनमै भएका कारण डोटीको एक सिटका लागि तालमेल गर्न मुस्किल हुने देखिएको छ। 

प्रतिनिधि सभाको उम्मेदवारका लागि माओवादी केन्द्र पनि तयारीमा जुटेको डोटीका जिल्ला सह–इन्चार्ज भरत बोहरा ‘योगेन्द्र’ ले बताए। ‘हाम्रो पार्टीले अहिले मुख्यमन्त्रीलाई नै प्रतिनिधि सभाको उम्मेदवार बनाउने तयारी गरेको छ,’ उनले भने, ‘तर गठबन्धन भएका कारण केन्द्रको निर्णय सबैले मान्नुपर्ने हुन्छ।’

डोटीबाट चुनाव लड्ने दावेदारी प्रस्तुत गरेका तीनैजना सत्ता गठबन्धनकै शिर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहल र माधवकुमार नेपाल नजिक छन्। देउवाको विश्वास पात्रका रुपमा बलायर देखिएका छन् भने, आले नेपाल र भट्ट प्रचण्डका नजिकका पात्र हुन्।

यसैकारण डोटीको एक सिट कसले पाउँछ भन्ने सर्वत्र चासोको विषय बनेको छ। सोही कारण तीन नेताको दाबी देखिएको डोटीमा टिकट पाउनका लागि नै रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस