सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मन्दिर तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुने चिन्ता

२०७९ साउन ३०, ११:४९ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा आइतबारदेखि जग्गाको नापजाँच सुरु भएको छ। आइतबार बिहान नगर प्रमुख गोपाल हमालले जग्गाको नापजाँचको काम सुभारम्भ गरेका हुन्। वडा नम्बर ५ मा जग्गाको नापजाँच सुरुभएसँगै मन्दिर तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गर्न चिन्ता गरिएको छ।

स्थानीयले जाईं क्षेत्रका मन्दिरहरुले संरक्षण गर्दै आएको सार्वजनिक जग्गामा भू–माफियाहरुले आँखा लगाएको बताएका छन्। उनीहरुले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसँग भने, ‘मन्दिरले जग्गाको संरक्षण गर्दै आएको छ। मन्दिरको जग्गामा वडा कार्यालय पनि छ। दर्ता गर्दा मन्दिरको नाममा हुनुपर्छ। मन्दिरको जग्गा बिक्री गर्न नपाइने बताउनुपर्छ।’

धनगढीमा रहेका सार्वजनिक खोला तथा तालहरु अतिक्रमणको चपेटामा छन्। भूमि आयोगले लालपुर्जा वितरणका लागि काम थालेका बेला पुनः बाँकी रहेका सार्वजनिक जमिन पनि व्यक्तिको नाममा दर्ता हुने चिन्ता गरिएको हो। भू–माफियाहरुले आयोग तथा उपमहानगरपालिकाका प्राविधिकहरुलाई प्रलोभनमा पारेर वा धम्काएर आफ्नो नाममा जग्गा दर्ता गर्ने चिन्ता नागरिकमा छ।

धनगढी उपमहानगरपालिकामा जग्गाको नापजाँच गर्दा प्राविधिकहरुले ख्याल गर्नुपर्ने माग गरिएको छ। प्राविधिक कर्मचारीहरुलाई स्थानीयले सार्वजनिक जग्गा, विभिन्न संघ/संस्थाले संरक्षण गर्दै आएको जग्गा, प्राकृतिक ताल क्षेत्र, सार्वजनिक खोला तथा कुलोहरुका बारेमा पनि जानकारी लिन माग गरेका छन्।

तर, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललले जग्गाको बिन्दु नभएकाले समस्या हुने गरेको बताए। उनले बिन्दुका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गरेको बताए। धेरै समयअघिदेखि उपमहानगरपालिकाभित्रका सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस