सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन केन्द्रित हुँदै कैलालीका राजनीतिक दल, ‘डेब्यू’ गर्दै नागरिक उन्मुक्ति

२०७९ साउन २७, ०८:०४ कमल सावद

धनगढीः कैलालीमा आगामी निर्वाचनमा भाग लिनेगरि ३० राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फेरि निर्वाचन आयोगले दल दर्ता गर्न भनेको छ। 

मंसिर ४ गतेको निर्वाचनका लागि आयोग तयारीमा रहेका बेला राजनीतिक दलहरु पनि निर्वाचन केन्द्रित भएका छन्।  उनीहरु सदस्यता नविकरण, कमिटी विस्तार, कार्यकर्ता प्रशिक्षण, राजनीतिक भेटभाटमा व्यस्त भइसकेका छन्।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले नेता कार्यकर्तासँग भेटघाट थालेको बताए। उनले माथिल्लो तहबाट कुनै निर्देशन नआएको भएपनि जिल्लामा छलफल तथा सहकार्य थालिएको बताए। ‘निर्देशन छैन तर सबै साथीसँग हिँडने वातावरण बनाउने मेरो दायित्व हो’ उनले भने। 

प्रतिनिधि सभा सदस्यका पाँच र प्रदेश सभा सदस्यका १० निर्वाचन क्षेत्र रहेको कैलालीमा नेकपा एमाले सबैभन्दा ठुलो दल हो। निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५ बाट विजयी प्रतिनिधि सभा सदस्य एमालेका छन्। एमालेका प्रदेश सभा सदस्यहरु भने २ जना मात्रै छन्। 

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, माओवादी केन्द्रलगायतका पार्टीले आगामी निर्वाचनमा गठबन्धन गरेमा एमालेलाई जिल्लामा साख जोगाउन मुस्किल हुने देखिएको छ। नेकपा एमालेका कैलाली कार्यबाहक अध्यक्ष दुर्गा जोशीले एमाले जिल्लाको ठुलो रहेकाले चुनावका लागि तयारी थालेको बताए। ‘आफ्नो तयारी थालेका छांै। सबै पालिकामा कार्यक्रम गर्दैछौं’ उनले भने। 

नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नागरिक उनमुक्ति पार्टी पनि निर्वाचन केन्द्रित कार्यक्रमहरुमा व्यस्त छन्। नेताहरु प्रतिनिधि सभा सदस्य र  प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खोजीसमेत गर्न थालेका छन। नेकपा एकीकृत समाजवादी कैलालीका अध्यक्ष भैरव रावलले सहमतिपछि मात्रै गठबन्धनको तयारीमा रहेको बताए।

यस्तै स्थानीय तहको चुनावका बेला खुलेको नागरिक उन्मुक्ति पार्टीले कैलालीका पाँच ओटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। प्रतिनिधि सभाको पाँच क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो उम्मेदवारलाई चुनावमा पठाउने भएको हो। कैलालीमा प्रदेश सभामा पनि चुनावी मैदानमा उत्रिने योजना नागरिक उन्मुक्ति पार्टीको छ। 

प्रदेशका अन्य जिल्ला र प्रदेशबाहिर पनि उम्मेदवार उठाउने योजना रहेको उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले बताए।


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस