सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसपीको सनकले दार्चुलाका प्रहरी हवल्दार जेलमा, न्यायको पर्खाइमा श्रीमती 

२०७९ साउन २५, ०७:३१ आशिष मल्ल

धनगढी:  दार्चुलाको सशस्त्र प्रहरी गणभित्रको अनियमितता बाहिर ल्याउने हवल्दार यतिबेला थुनामा छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत २ तिहाईभन्दा बढी जवान विदामा रहने र उनीहरुको कटौती भएको राशन भत्ता प्रहरी उपरीक्षक(एसपी) त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने सूचना दिने वरिष्ठ हवल्दार नरेश सिंह साहु अहिले जेल परेका हुन्। 

उनलाई जन्मकैदको मागसहित मुद्दा चलाइएको छ। उनीमाथि गणका सिपाहीलाई बिदामा पठाएर एसपी त्रिभुवन बिष्टले उनीहरुको राशन खाइदिएको विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराएको आरोप छ। हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए। तर, उनलाई गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको छ। 

साहुलाई फसाउन गणका केही अधिकारी र स्थानीय पत्रकार भनिएकाको मिलेमतो पाइएको छ। साहुले उक्त विवरण स्थानीय पत्रकार भनिएका सन्तोष सिंह ठगुन्नालाई दिएका थिए। तर उनले पनि उक्त जानकारी एक पत्रकारलाई दिए। त्यसपछि अर्का पत्रकारले उक्त जवानको उपस्थिती हाजिरी दिनेशखबरलाई उपलब्ध गराएका थिए।

दिनेशखबरमा समाचार प्रकाशित भएपछि स्रोतको संरक्षण गनुपर्नेमा उल्टै उनले स्रोतको पोल खोलेका छन्। उनले गणमै गएर हवल्दार शाहुले नै आफूलाई सूचना दिएको भनि बयान दिएका थिए।   यसरी उनले स्रोतको संरक्षण गनुपर्नेमा उल्टै स्रोतलाइ जेल पठाउने काम गरेका छन्। उनी पत्रकार पनि नभएको खुलेको छ। 

अहिले हाल गणभित्रको अनियमितता बाहिर ल्याएका ती हवल्दारलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ। तर, उनकी श्रीमती दुर्गा शाहुलाई भने न्याय पाउने आशा छ। ‘अहिले उहाँलाई विशेष अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कागागार चलान गरिएको छ। भदौ ६ गते वकपत्र छ। मैले वकिल खोजेको छुँ। उहाँले मिसिल हेरेर मुद्दा जित्ने बलियो आधार भएको भनेर आशा दिनुभएको छ। मुद्दा जिताउँछु भन्नुभएको छ।’ उनले भनिन्। 

उनी अहिले कञ्चनपुरमा रहेको घर कच्ची घरमा  छिन्। छोराछोरी र निधन भएका दाईका छोरालाई समेत उनले हुर्काइरहेकी छिन्। आफूले श्रीमान कारबाहीमा परेको समेत जानकारी नपाएको उनले बताइन्। समाचारबाट श्रीमानलाई कारबाही गरेको जानकारी  पाएपछि उनी काठमाडौं गएकी थिइन्। एसएससी समेत पास नगरेको बताउने दुर्गा आफ्ना श्रीमान छिट्टै रिहा हुन् भनेर बारम्बार वकिललाई सम्पर्क गरिरहेकी छन्। ‘उहाँले गल्ती गरेको प्रमाणित भएपनि आजिवन कारावासको सजाय नहोस्। १९ वर्ष जागिर गरेका उहाँकै कमाईमा सम्पूर्ण परिवार चलेको थियो’ दिनेशखबरसँग रुँदै उनले भनिन्, ‘उहाँलाई सधैका लागि जेल हालिए हामी त सडकमा आउँछौ। यी बालबच्चाको विजोक हुने हो।’

हाल उनी सुरक्षा निकाय सम्बन्धी मुद्दा लडेको वकिलको खोजीमा छन्। ‘मेरो वकिलले पनि त्यस्तै वकिल खोज्न प्रयास गर्नु भन्नुभएको छ। तर म एसएलसी समेत पास नगरेकी महिला कहाँबाट वकिल खोजौं। घरमा साना छोराछोरी छन्। भतिजा पनि पढाइरहेको छु’ उनले भनिन्। 

सम्बन्धित समाचार 

सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !
दिनेशखबरको समाचारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणको खण्डन 
दार्चुलाको सशस्त्र प्रहरी गणमा भएको अनियमितता पुष्टि, एसपीको खण्डन झुटो
दार्चुलाका सशस्त्र प्रहरी हवल्दारलाई जेल हाल्न ‘कथित’ पत्रकारको यस्तो बयान

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस