सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको सशस्त्र प्रहरी गणमा भएको अनियमितता पुष्टि, एसपीको खण्डन झुटो

२०७९ साउन १९, ०५:११ खबर संवाददाता

धनगढीः दार्चुलामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा भएको अनियमिताबारे सशस्त्र प्रहरी विशेष अदालतमा दायर भएको अभियोगपत्रले पुष्टि गरिदिएको छ। 

यसअघि दिनेशखबरले गत जेठ २८ गते ‘गणमा कार्यरत २५८ जनामध्ये १२२ जना बिदामा बसेको’ भनि समाचार प्रकाशित गरेको थियो। स्रोतले दिएको सूचनाका आधारमा धेरैजसो समयमा उक्त गणमा कार्यरत १ सयभन्दा बढी जना बिदामै रहने भनि समाचारमा उल्लेख भएको थियो। त्यहाँ कार्यरत जवानहरुले विदामा बस्दा राशन भत्ता कटौती हुने गरेको र त्यो रकम दार्चुलाका प्रहरी उपरीक्षक(एसपी) त्रिभुवन विष्टको व्यक्तिगत खातामा जाने गुनासो गरेका थिए। प्रकाशित समाचारमा सशस्त्र प्रहरी कर्मचारीहरुको दैनिक उपस्थिति र अनुपस्थितिको विवरण मात्रै उल्लेख गरिएको थियो।

उक्त समाचार प्रकाशित भएको २ दिनपछि जेठ ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणले समाचारमा खण्डन गरेको थियो। एसपी विष्टले हस्ताक्षर गरेको खण्डनमा प्रकाशित भएको समाचारमा ‘कुनै सत्यता नभएको’ उल्लेख गरिएको थियो। 

त्यसपछि गणमा कार्यरत वरिष्ठ हवल्दारले मिडियालाई सूचना उपलब्ध गराएको अभियोगमा उनीविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरिएको थियो। हवल्दारले ‘नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आन्तिरिक गोप्य सूचना हातहतियार गोली गठ्ठा तथा जनशक्ति विवरण समेत खुल्ने गरी सूचना स्थानीय पत्रकारमार्फत प्रशारण गर्न लगाइएको’ भनेर उनीविरुद्ध कारवाही गरिपाउ भनि आभियोग पत्रमा उल्लेख गरिएको छ। 

यसरी सशस्त्र प्रहरीको गणले दिनेशखबरको समाचारमा दिइएका तथ्यांक र विवरण झुटा भएको खण्डनमार्फत बताए पनि मुचुल्का र मुद्दा फाइलमा भने हाजिरी विवरण वास्तविक भएको उल्लेख छ। यो कुराले एसपी विष्टले समाचारमा सत्यता नभएको भनि गरेको खण्डन नै झुटो भएको प्रष्ट हुन्छ। र, दिनेशखबरलाई स्रोतले दिएको सूचना सहि साबित भएको पुष्टि हुन्छ। 

हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए। तर, उनलाई गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको छ। 
हाल गणभित्रको अनियमितता बाहिर ल्याएका ती हवल्दारलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाएर पुर्पक्षको निम्ति जेल पठाइएको छ। 

तर गणका एसपी त्रिभुवन विष्ट अझै पनि आफ्नो खण्डन झुटो भएको स्वीकार्न तयार छैनन्। उनले प्रकाशित समाचारमा दिइएको सूचना सही तर हाजिरी खाका गलत भएको दाबी गरेका छन्।

सम्बन्धित समाचार:
सीमा सुरक्षाका लागि दार्चुलामा खटाइएका १२२ जना सशस्त्र प्रहरी बिदामा !

कमेन्ट लोड गर्नुस