सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गको ३३ किलोमिटर कालोपत्रे गर्न नयाँ ठेक्का, पुरानो काम अलपत्र

बर्खापछि काम बन्द

२०७९ साउन २५, ०३:१२ कमल सावद

धनगढीः धनगढी–दीपायल फास्ट ट्रयाकको नयाँ ३३ किलोमिटर कालोपत्रेका लागि ठेक्का सम्झौता भएको छ। कैलालीमा साढे १३ किलोमिटर र डोटीमा साढे ९ किलोमिटर सडक निर्माणको काम जारी रहेका बेला ३३ किलोमिटर सडक कालोपत्रेका लागि नयाँ ठेक्का सम्झौता भएको हो। 

यही असारमा निर्माण सम्झौता भएकोमा निर्माण कम्पनीले काम भने सुरु गरेको छैन। बर्खाको समयमा सम्झौता गरिएकाले निर्माण कम्पनीले काम सुरु गर्न समय लगाएको हो। पुरानो २३ किलोमिटर सडक कालोपत्रेको काम पनि बर्खापछि अलपत्र जस्तै भएको छ। धनगढी–दीपायल द्रुतमार्गको ५६ किलोमिटरमा कालोपत्रेको काम सुरु हुने भएको छ।  

कैलालीको हाटखोली क्षेत्रमा ७ किलोमिटर र डोटीमा २६ किलोमिटर द्रुतमार्ग कालोपत्रेका लागि सम्झौता गरिएको हो। कैलालीमा १४ करोड २० लाख १८ हजार ४ सय ८१ रुपैँयामा ७ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता भएको छ। कैलालीमा कालिका वेदान जेभीसँग सडक निर्माणको असारमा ठेक्का सम्झौता गरिएको छ। डोटीमा २६ किलोमिटर सडक कालोपत्रेका लागि क्याप दुमिला जेभीसँग २८ करोड ३० लाख ७४ हजार सात सय ८५ रुपैयाँमा सम्झौता भएको छ। डोटीमा साउन महिनामा सम्झौता भएको धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। उनले भने,‘सम्झौता भएको छ। तर, काम सुरु भएको छैन। उहाँहरुले भदौ पहिलो साताबाट काम सुरु गर्ने बताउनुभएको छ।’

धनगढी–दीपायल सडकको थप नयाँ ३३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको हो। तर, सडक निर्माणको काम सुरु भएको छैन। निर्माण कम्पनीले भदौ पहिलो साताबाट काम सुरु गर्ने बताएको छ। बर्खा भएकाले सडक निर्माणको काम सुरुवात नभएको दाबी गरिएको छ। धनगढीदेखि हाटखोलीसम्म साढे १३ किलोमिटर र डोटीको दीपायलदेखि बाँझमोडसम्म साढे ९ किलोमिटर सडक कालोपत्रेको काम भने अलपत्र पारिएको छ। कालोपत्रेको चौडाई साढे सात मिटरको हुने छ। तर, बर्खापछि सडक निर्माणको काम बन्दजस्तै छ।

हाल कल्भर्ड निर्माणको काम मात्र जारी छ। अन्य संचना निर्माणको काम बन्द गरिएको धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी रैखोलाले बताए। उनले कैलालीमा कल्भर्ड निर्माणको काम मात्र जारी रहेको बताए। २०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक निर्माणको काम सुरु भएको थियो। सुरुमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे गरिएकोमा पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक थपिएको हो। अहिले धनगढी–दीपायल सडकको लम्बाइ ९२ किलोमिटर कायम गरिएको छ। 


 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस