बैतडीको पुरचौंडीले डीपीआरका नाममा मनपरी खर्च गरेको खुलासा
बैतडी: बैतडीको पुरचौंडी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विस्तृत आयोजना प्रतिवेदन(डीपीआर)का लागि मनपरी खर्च गरेको तथ्य फेला परेको छ। पालिकाले डीपीआर गराउँदा लाग्ने खर्चको लागत अनुमान गर्दा कुनै आधार नलिई स्वीकृत बजेट बमोजिमकै रकम खर्च गरेको हो। महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पालिकाले डीपीआर तयार गर्दा आफूसँग भएको प्राविधिक जनशक्ति प्रयोग गरेको छैन।
नगरपालिकाले रेसी–कठपते–विजयपुर– सिलङ्गा सडकको डीपीआर तयार गर्न आरबी इन्जिनियरिङ कन्सल्टेन्ट प्रालिलाई १८ लाख ८६ हजार ३०४ भुक्तानी दिएको छ। यसैगरी नगरपालिकाभित्रका विभिन्न सडकको डीपीआर तयार गर्न ग्लोबल इन्जिनियरिङ कन्सल्टेन्टलाई १८ लाख ३६ हजार २५०, रेसी–विजयपुर– हाट–कुवाकोट– स्लेटखानी सडककको डीपीआर तयार गर्न शुभम् डेभलपर्स प्रालिलाई १९ लाख १० हजार ८३०, रविगङ्गा–पातीहल्ला–डनपुर सडकको डीपीआर तयार गर्न प्याराडाइज इन्जिनियरिङ कन्सलटेन्सीलाई १४ लाख ९२ हजार १६५ भुक्तानी दिइएको छ।
नगरपालिकाले न्वादेउ १५ शय्या अस्पतालको डीपीआर बनाउन १९ लाख ९२ हजार ७२५ खर्च गरेको छ। यो रकम मेघा सिभिल इन्जिनियरिङलाई भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।
भूमिराज माविको भवन निर्माण गर्न वन डिग्री कन्सलटेन्टलाई ४ लाख ८४ हजार ५१९, बुढाखोला–बन्तोली सिँचाई कुलोको डीपीआर तयार गर्न बीरबेताल इन्जिनियरिङ कन्सल्टेन्सीलाई ४ लाख ९५ हजार ४८२ भुक्तानी दिइएको छ। यस्तै महादेवस्थान– घट्टेखोला खडाली चौर सडकको डीपीआर तयार गर्न बासुलिङ कन्सल्टेन्टलाई २ लाख ९८ हजार ७७२ रुपैयाँ भुक्तानी गरिएको छ।
पुरचौंडी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डीपीआर तयार गर्न १ करोड २ लाख ९७ हजार ४७ रुपैयाँ खर्च गरेको देखिन्छ।