सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हो कुशल नेतृत्व ?

२०७९ साउन २२, १२:४३

-अच्युत प्रसाद उप्रेती
नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिका लागि परिस्थिति अनुसार अनुयायीलाई प्रभावित गर्नसक्ने खुबी वा क्षमतालाई भनिन्छ। आफ्नो मातहतमा रहेका व्यक्तिलाई अगुवाई गर्ने गुणलाई नै नेतृत्व भनिन्छ। 
नेतृत्व मानिसमा भएको दैविय गुण हो। यो सबैले प्राप्त गर्न सक्दैन। जुन व्यक्तिलाई यस्तो गुण प्राप्त हुन्छ, त्यस्ता व्यक्तिले आफ्ना मातहतका व्यक्तिहरुलाई कुशलताका साथ प्रोत्साहित गर्दछन्। र, उनीहरुमा विश्वास जगाई आफू एवं आफूले प्रतिनिधित्व गरेको निकायप्रति निष्टावान बनाउँछन्। 

नेतृत्व लिने क्षमता, आत्मविश्वास, मानसिक रुपमा सक्षम, आकर्षक व्यक्तित्व कुशल नेतामा हुनुपर्ने गुण हुन्। व्यवसाहिक प्रतिष्ठान हुन या राजनीतिक दल सफल हुनुमा असल अनि कुशल नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ। 
असल नेतृत्वको अभावमा प्रतिष्ठान तथा राजनीतिक दलका कार्यकर्ताहरुमा वैमनुष्यता, गुटबन्दी  पैदा हुन्छ। जसकाकारण प्रतिष्ठान तथा राजनीतिक दलहरु असफल हुन जान्छन्। तर कुशल नेतृत्वले कार्यकर्तामा जागरण पैदागरी संस्था तथा पार्टीलाई मजबुत र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। निष्क्रिय भएको संस्था तथा पार्टीलाइ पुन:जागृत गरि सक्रिय बनाउँछ। 

असल नेतृत्व हुन समाजबाट राज्यको प्रतिनिधिको रुपमा चुनिएर जाने जनप्रतिनिधिहरुले आफुले प्रतिस्पर्धामा भाग लिँदाका अवस्थामा जुनसुकै दलबाट प्रतिनिधित्व गरेपनी चुनिएर प्रतिनिधि भइसकेपछि बीना भेदभाव जनतालाइ समान व्यवहार गर्नुपर्दछ।  सबै जनतालाई समान व्यवहार गरि राज्यका सबै सेवा सुविधा प्राप्त गर्नसक्ने अवसर प्रदान गर्नुर्छ। राजनीतिक शक्तिको प्रयोग गर्दा आफ्ना कार्यकर्ता मात्र नभनी समान रुपमा सबै जनतालाई प्रदान गर्न सकेमा मात्र राज्य र जनताप्रति न्याय भएको मानिन्छ। यस्तो व्यक्ति सफल नेता तथा राजनेता कहलिन्छ। 

नेतृत्व कसलाई मानिदैन ?
कुनै पर्टीमा डर वा त्रास देखाइएका कारण नेतालाई सम्मान गरिन्छ भने त्यसलाई नेतृत्व मानिदैन। त्यस प्रकारको नेतृत्वलाई आतंक भन्न सकिन्छ। नेता आउदा पार्टी वा संगठनमा हर्षोउल्लास हुनुपर्दछ न कि आतंक। 
त्यसैगरी लोकप्रियतालाई पनि नेतृत्व मान्न सकिँदैन। लोकप्रियता सस्तो पनि हुन सक्छ। लोकप्रियता त कलाकार र अभिनेताहरुको पनि हुन्छ। त्यसैगरि कुनै व्यक्ति समाजमा आफ्ना बानी व्यहोराका कारण लोकप्रिय हुनसक्छ।

तर त्यस्तो व्यक्तिको लोकप्रियतालाइ नेतृत्व मान्न सकिँदैन। आदेश दिने र निर्देशन दिने गुणका अतिरिक्त अन्य गुण भएमा मात्र नेतृत्व मान्न सकिन्छ। असल नेतामा संगठका सदस्यहरुलाई प्रभावित गर्ने, कर्यकर्ताको विश्वाश जित्ने, उनीहरुको व्यवहार र सोचाइ परिवर्तन गर्नसक्ने गुण हुनु आवश्यक छ। नेतृत्वले सामूहिक उदेश्य प्रप्तिका लागि नेतृत्व गर्दछ  र आफ्ना अनुनायीबाट विश्वास प्रप्त गर्नका लागि आफ्नो आचरण क्षमता र दक्षता प्रदर्शन गर्न सक्छ भने मात्र त्यस्तो व्यक्तिलाई नेतृत्व मान्न सकिन्छ।

असल नेतृत्वका गुणहरु 
क. लक्षणवादी:  लक्षणवादी बिचारधारा भएको नेतृत्व आफ्ना अनुयायीहरुसँग घनिष्ट सम्बन्ध स्थापित गरि समान उद्देश्य प्राप्त गर्न मानविय भावनालाई ध्यानमा राखी कार्य गर्ने र आफू पनि शारीरिक रुपमा स्वस्थ हुनुका साथै आचरण व्यवहार र योग्यता भएको व्यक्ति हुन्छ। यस्तो नेतृत्व समय परिस्थिति अनुसार आफुलाई परिवर्तन गर्नसक्ने खालको हुन्छ।

ख. स्थितिवादी: स्थितिवादी बिचारधारा भएको नेतृत्व गुणहरुका आधारमा मात्र होइनकि यस्तो नेतृत्व हुन परिस्थितिले पनि निर्भर गर्दछ। नेतृत्व गर्ने व्यक्ति शिक्षित योग्य विवेकी छैन भने पार्टीका कार्यकर्ताले त्यसको फाइदा उठाइ पार्टीभित्र आफ्नो प्रभुत्व जमाइ त्यस्ता नेतृत्वलाई पंङ्गु बनाइ दिन्छन्। तसर्थ नेतृत्वले हर हमेसा समय परिस्थिति अनुसार आफ्नो पार्टीको निम्ति सक्रिय हुँदै समय परिस्थिति अनुसार  आफुलाई परिवर्तन गर्दै लैजाने खालको हुन्छ।

नेतृत्वका प्रकार:
क. औपचारिक नेतृत्वः औपचारिक नेतृत्व एउटा उच्च पदस्थ पद हो। यस्तो नेतृत्वलाई निर्देशन दिने र नियन्त्रण दिने अधिकार दिइएको हुन्छ। त्यसकारण यस्तो नेतृत्वले नीति निर्माण गरि मातहतमा रहेका कार्यकर्ताको सहयोगमा कार्यान्वयन गर्छ। यस्तो नेतृत्व गर्ने व्यक्ति स्वभाविक गुण भए पनि नभएपनि उ आफ्नो शत्ता र शक्तिले गर्दा सधै नेता नै कहलिन्छ।

ख. अनौपचारिक नेतृत्व: औपचारिक नेतृत्व कमजोर, दुर्लभ हुनुका सधै आलोचनाको पात्र, कार्यकर्तालाई सन्तुष्ट बनाउन नसक्ने, निश्चित व्यक्तिलाइ मात्र साथ लिएर हिँडने भएमा संस्था र पार्टी भित्रैबाट वैकल्पिक नेतृत्वको खोजी हुन्छ। त्यस्तो वैकल्पिक नेतृत्वले सबैको समर्थन र विश्वास प्राप्त गरि अनौपचारिक रुपमा नेता कहलिन्छ।

ग. सत्तावादी तथा निरङ्कुस नेतृत्व: जुन संस्था र पर्टीमा नेता र कार्यकर्ताको सम्बन्ध सत्ताको आधारमा स्थापित हुन्छ त्यस्तो नेतृत्व सत्तावादी तथा निरकुंश नेतृत्व भनिन्छ। यस्तो नेतृत्वले सम्पूर्ण निर्णय आफैले एकलौटी रुपमा गर्ने गर्दछ र निरकुंश र तानासाह शैलीमा सम्पूर्ण कार्यहरु गर्दछ। यस्तो नेतृत्वले आफ्ना मातहतका कार्यकर्ताहरुको भावनाको कदर नगरी उनीहरुसँग कुनै किसिमको बिचार विमर्श नगरि नेतृत्वको सम्पूर्ण अधिकार आफैमा केन्द्रित गर्दछ। कार्यकर्तामाथि आक्रमण र दमनकारी भूमिका निर्वाह गरि कार्यकर्तालाई आदेश र निर्देशन दिइरहन्छ। 

घ. प्रजातान्त्रिक नेतृत्व: यस्तो नेतृत्वले कार्यकर्ताको बढीभन्दा बढी सहभागितामा निजहरुकै सर सल्लाहमा बिचार विमर्श र छलफल गरि सबै किसिमका काम कर्तव्य र निर्णयहरु गर्दछ। नीति तथा कार्यक्रमको निर्माण गर्दा कार्यकर्ताको सल्लाहमा जनताको हितमा कार्य सम्पादन गर्दछ। यस्तो नेतृत्वमा सामूहिक छलफल गर्ने समूहको स्विकृति लिने र सबै तहका कार्यकर्ताहरुको सहभागिता गराइन्छ। जुनसुकै कार्य गर्दा पनि दोहरो सञ्चार हुन्छ। त्यसैले प्रजातान्त्रिक नेतृत्व सदैव चर्चित र सफल हुने गर्दछ। 

एकीकरण भएदेखि नेपालको नेतृत्व हेर्दा देश नबन्नुमा जनताको दोष नभएर नेतृत्वनै बढी दोषी देखिन्छ। पृथ्वीनारायण साहसँग एउटा स्पष्ट योजना थियो। जुन योजना सफल भयो र उनले नेपाल एकीकरण गरे। उनीपछि राज परिवारको १०/१२ पुस्तासम्म राजाहरुले नै प्रत्यक्ष शासन गरेपनि पृथ्वीनारायण शाहका उत्तराधिकारीहरु जति पनि सत्तामा आए धेरैजसो नेतृत्वहरु विलासिता, ऐश आराममा रमाएको इतिहासमा पढन पाइन्छ। त्यो नेतृत्वले जनताको लागि केही गरेको देखिँदैन। कसैको पनि देश निर्माणमा खासै योगदान रहेन तर अपवादको रुपमा राजा महेन्द्र देखिए।

उनको देश निर्माणमा धेरै मात्रामा योगदान देखिन्छ। जसमा उनको नेतृत्वमा धेरै कामहरु भएका छन्। जसमध्ये महत्वपूर्ण काममा नेपाल राष्ट्र बैंकको स्थापना, देशैभरी नेपाली मुद्राको प्रचलन, योजनाबद्ध विकास प्रक्रियाको थालनी, पूर्व–पश्चिम राजमार्ग, नयाँ मुलुकी ऐनको निर्माण, देशभर शिक्षा र स्वास्थको क्षेत्रमा सुधार गर्नुका साथै नेपाली शिक्षाको माध्यम नेपाली भाषामा गराउने काम गरेका थिए। साथै अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार गरेका थिए र साथै सम्झना गर्न लायक धेरै काम हरु गरेका थिए।

राणा शासनविरुद्द २००७ सालको क्रान्तिदेखि स्वतन्त्र विद्रोह हुँदै २०६२/६३ को जनआन्दोलनसम्म अधिकार र पहिचानको नाममा थुप्रै आन्दोलन भए। तर ती सबै आन्दोलनहरु सत्ता चढ्ने भर्याङ मात्र बनाइए। प्रजातन्त्रको उदय भएर शासन सत्तामा साधारण जनताको पहुँच भएपछि भने जनताले आशा गरेजस्तो एउटा पनि नेतृत्व पाउन सकेका छैनन्। पटकपटक उनै अनुहारहरु दोहरिए–तेहरिए। तर देश र जनता जहाँको त्यहीँ छन्।

देशमा भनेजस्तो रोजगारी नपाउँदा युवाहरु विदेशिने क्रम बढदो छ। नेतृत्वमा हुनुपर्नै गुणको अभावकै कारण यो अवस्था आएको हुनसक्छ। नेतृत्वले जनताले गर्व गर्नलायक कुनै काम गर्न सकेका छैनन्। तर हामी जनताको नेतृत्वप्रति कुनै गुनासो छैन।

आफूले कमाएर सरकारलाई कर तिरिरहेका छौं। एकदिन देश अवश्य बन्नेछ, आगामी दिन सुनौला हुनेछन् भन्ने आशामा हमी जनता बाँचिरहेका छौं। नेतृत्वले गर्व गर्न लायक कुनै काम नगरेपनि देश विदेशमा रहेका हामी जनता सगरमाथा हाम्रो हो, बुद्धभूमी नेपाल हो र सीता नेपालकी छोरी हुन् भन्ने आडमा बाँचिरहेछौ, बाँचिरहनेछौं।     

(लेखक उप्रेती कञ्चनपुरका अधिवक्ता हुन्।)
 

कमेन्ट लोड गर्नुस