सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनामा जागिर खाने धोको बिट मारेर र्‍यापमा जम्दै बैतडीका ‘डिएनएक्स’

२०७९ साउन २१, ०६:१५ रोशन भट्ट

धनगढीः  सुरक्षा निकायमा प्रवेश गरेर देशको रक्षाका निम्ती योगदान दिने रहर सबैलाई हुँदैन। त्यस्ता केही व्यक्ति छन्, जो नेपालको सुरक्षा संयन्त्रमा काम गर्ने चाहना राख्छन्। उनीहरु  त्यसमा सफल हुनका लागि दिनरात नभनी संघर्ष गर्छन्।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ मा जन्मिएका दिनेश नेपालीको कथा पनि त्यस्तै छ। उनलाई नेपाली सेना वा प्रहरीमा रहेर देशको सुरक्षा गर्ने ठुलो धोको थियो। त्यसमा सफल हुन उनले गरेको प्रयास निकै संघर्षपूर्ण छ।पछिल्लो पटक झण्डै ३ वर्ष अगाडि उनले आफ्नो लक्ष्य पुरा गर्न  नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट पदका लागि आवेदन दिए। लिखितमा पास भएका दिनेश अन्तवार्तामा फालिए। 

छनोट हुने क्रममा एकपटक उनको तालिम चितवनमा पर्यो। तालिमको समयमा रमाइलो गर्न केही प्रशिक्षार्थी अब्बल हुन्छन्। त्यस्तै मनोरञ्जन गर्नका लागि उक्त तालिममा सहभागी भएकाहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नथाले।  सहभागी ४ सयभन्दा बढीको भिडमा दिनेशले पहिलोपटक गाएका थिए र्‍याप। ‘मैले तालिममा र्‍याप गाउदा ३ सयभन्दा बढीले नोटिस गरे। त्यसपछि र्‍याप गर्ने गर्ने प्रेरणा मिलेको थियो,’ दिनेशले भने। 

दिनेश नेपाली उर्फ 'डिएनएक्स'ले र्‍याप गाउन थालेको ४ वर्ष भयो। सुरुवातमा उनले अर्कैले लेखेका र्‍याप गाउथे। तर पछिल्लो समय आफै लेखेका र्याप गाउन थालेपछि उनको चर्चा बढेको छ। डिएनएक्स १७ वर्षदेखि परिवारसहित देशको संघीय राजधानी काठमाडौंमा बस्दै आएका छन्। केही समयअघि सम्पन्न भएको र्‍याप रियालिटी शो नेपहपको श्रीपेचबाट उनको चर्चा चुलिएको थियो। काठमाडौंबाट अडिसन दिएका उनले शोमा निकै उत्कृष्ट प्रस्तुती पनि दिए। ८ हजार जनाबाट छनोट हुँदै टप ७ मा पुग्न सफल भएका डिएनएक्स युवा जमातका लोकप्रिय र्‍यापर भएर उदाएका छन्। 

सुदूरपश्चिममा जन्मिएर हिपहप संगित अर्थात र्‍याप गाउन तथा सिर्जना गर्न त्यति सजिलो थिएन। समयक्रम अनुसार सुदूरपश्चिममा पनि उक्त संगितलाई माया गर्ने र नजिकबाट चिन्ने तमाम दर्शक स्रोताको जन्म भइसकेको छ। यसकै बीचबाट केही कलाकार र्‍याप गायक भएर उदाएका छन्। त्यसकै उदाहरण बनेका छन् दिनेश नेपाली उर्फ डिएनएक्स।

फोर्सप्रतिको लगाव त्यागेका उनले आफ्नो भविष्य संगितमा नै खोज्न थालेका छन्। ४ वर्षदेखि आफैले सिर्जना गरेर र्‍याप गाउन थालेपनि रियालिटी शोले उनलाई आम दर्शक स्रोतामाझ परिचित गराएको छ।  तर पनि उनमा सुदूरपश्चिमको मौलिक संस्कृती देउडाप्रतिको माया उत्तिकै छ। ‘देउडाप्रति निकै माया छ। म सुनिरहेको हुन्छ। सकेसम्म र्‍यापकै शैलीमा देउडा गीत निकाल्ने योजना छ,’ डिएनएक्सले भने। 

कुनै पनि सिर्जना आफैमा अमर हुन्छ। त्यसकारण केही सिर्जना गर्न सजिलो पनि छैन। र्‍यापका शब्द सिर्जना गर्न पनि जो कोहीलाई मस्किल हुने गर्छ। माया, सद्भाव, रिस, आक्रोस, विकृती, बेथितिमाथि कडा प्रहरा गर्ने र्‍याप लेख्ने आट सबैमा हुँदैन। 

तर हिम्मत देखाएर तुलनात्कम रुपमा र्‍यापर डिएनएक्स सफल भएका छन्। उनले प्रयोग गर्ने थेगो–‘ब्ल्याड ब्ल्याक बोइ फ्रम बैतडी’ पनि सामाजिक सञ्जालमा भाइरल छ। उनले गाएका र्‍यापपका अधिकांश टुक्कालाई पनि नेपाली दर्शक स्रोताले औधी मन पराएका छन्। 

अहिले दैनिकजसो उनी कार्यक्रममा व्यस्त हुन्छन्। उनका नयाँ र्‍याप गीत पनि पाइप लाइनमा छन्।  तर नेपाली समाजले हालसम्म पनि र्‍याप संगितलाई त्यति सजिलै अंगाल्न सकेको छैन। खुल्दै गएको समाजले नयाँ पुस्ताको कलालाई सम्मान गर्न आवश्यक देखिन्छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस