सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौराहा–कैलाली पुलसम्म कालोपत्रे गर्न समस्या, पाइप विस्तारले अलमल

२०७९ साउन १९, ०१:३२ कमल सावद

धनगढीः कैलालीस्थित धनगढीको ट्राफिक चौराहादेखि कैलाली पुलसम्मको सडकको लम्बाई एक दशमलव ३८ किलोमिटर छ। उक्त सडकको दुवैतिर खानेपानीका पाइप बिस्तार गर्नुपर्नेछ। सडकमा रहेका पुराना खानेपानीका पाइप सार्न मिल्ने अवस्था छैन। 

खानेपानी संस्थान र सडक निर्माणको ठेक्का गरेको क्षेत्रीय सहरी विकास आयोजनासँग रकम पनि अभाव देखिएको छ। उक्त सडकखण्डमा खानेपानीका पाइप बिस्तारका लागि २ करोड आवश्यक पर्नेमा रकम अभाव देखिएको हो। रकम अभावले आयोजना कार्यालय अन्योलमा देखिएको छ। क्षेत्रीय सहरी विकास, आयोजना कार्यालय धनगढीका सूचना अधिकारी द्रोण कटुवालले पाइप बिस्तार गर्न स्वीकृतिको प्रक्रियामा रहेको बताए। उनले भने, ‘नापी पर्ने ठाउँमा पाइपहरु छन्। हामीले सडक खनेपछि खानेपानीमा समस्या हुने देखिएको छ। २ करोड जतिको लागत निस्किएको छ। भेरियसन गर्दैछौं। भदौ अन्तिमबाट मुख्य सडकको काम सुरु हुन्छ।’

एशियाली विकास बैँकको क्रण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनामार्फत धनगढीमा १० किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरिएको छ। दुई वर्षमा सडक निर्माणको काम पूरा गर्न सम्झौता भएकोमा धनगढीको मुख्य सडकमा खानेपानीका पाइप बिस्तारमा अन्योल देखिएको हो। खानेपानी संस्थानसँग रकम नभएको भन्दै उसले आयोजना कार्यालयलको मुख ताकेको छ। खानेपानी संस्थान, धनगढीका प्रमुख शैलेन्द्र शाहीले स्थानीय तह र आयोजनासँग छलफल गरेको बताए। आयोजना कार्यालयलाई पत्रचार गरेको पनि उनले बताए। तर आयोजना कार्यालयबाट कुनै प्रतिक्रिया नआएको शाहीले सुनाए। ‘उहाँहरुले हटाउनुपर्छ भन्नुभएको छ। आयोजनाले नै गर्ने कुरा भएको छ। हामीले स्टिमेट पनि बनाएका छैनौ’ उनले भने।

भरतपुरको कालिका कन्ट्रक्सनले धनगढीका सात सडकको १० किलोमिटर कालोपत्र गर्दैछ। ६८ करोड ५ लाख ९८ हजारमा निर्माण गर्नेगरी सम्झौता भएकोमा २ वर्षमा काम पूरा गर्न भनिएको छ। तर सडक क्षेत्रका खानेपानीका पाइपले सडक निर्माणमा समस्या गरेको छ। खानेपानीका पाइपको विषयमा निर्णय नभएकाले धनगढीको चौराहदेखि कैलाली पुलसम्मको सडकको काम सुरुसमेत भएको छैन। क्षेत्रीय सहरी विकास, आयोजना कार्यालय धनगढीका सूचना अधिकारी कटुवालले भदौ पछि मात्र सडक निर्माणको काम सुरु हुने बताए। 

चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि गत वर्षको असारमा ठेक्का सम्झौता भएको थियो।
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस