सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केआइसिंहमा ‘घुस आतंक’, १० लाखको योजनामा १७ प्रतिशत मागेको आरोप

२०७९ साउन १७, ०१:०८ रोशन भट्ट

धनगढीः डोटीको केआइसिंह गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा एक योजना छनोट गर्‍यो। त्यो योजना थियो, गाउँपालिकामा परिसरमा पर्खाल निर्माण गर्ने। १० लाख बजेटको उक्त योजना गाउँपालिकाले समयमा कार्यान्वयन गर्न सकेन।

 आर्थिक वर्षको अन्त्यमा बजेट सक्नकै लागि उक्त योजनाको निर्माण सम्झौता भएको देखिन्छ। गत असार १० गते मात्रै गाउँपालिकामा पर्खाल निर्माण गर्नका लागि एसएस कन्ट्रक्सनसँग सम्झौता भएको थियो। १० लाखको योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको एसएस कन्ट्रक्सनले पनि गुणस्तरिय काम नगरेको गुनासो केआइसिंहवासीको छ। 

सोही पर्खाल निर्माणमा अनियमितता भएको आरोप पनि लागेको छ। १० लाखको योजनामा गाउँपालिकाकै कर्मचारी (प्राविधिक) ले १७ प्रतिशत घुस मागेको आरोप लागेको हो। निर्माण कम्पनीसँग गाउँपालिकाका प्राविधिक कर्मचारीले १७ प्रतिशत घुस मागेको तथ्य बाहिरिएको स्थानीय रुपेन्द्र धामीले बताए।

पर्खाल निर्माण गर्ने जिम्मा पाएको कम्पनीका प्रतिनिधिले ‘फेसबुक च्याट’मा १० लाखको योजनामा ७ लाख ३० हजार मात्रै आफुले पाएको उल्लेख गरेका छन्। सोही संवादमा १७ प्रतिशत केआइसिंह गाउँपालिकाले मागेको पनि देखिन्छ। निर्माण कम्पनीका प्रतिनिधिले म्यासेन्जर संवादमा गाउँपालिकाका कर्मचारी कार्की र शेखरले १७ प्रतिशत मागेको बताएका छन्। कार्की र शेखर भनेका गाउँपालिकाका प्राविधिक कर्मचारी दानबहादुर कार्की र शेखर सावद हुन्। 

उनीहरुले भने यसमा आफ्नो कुनै संलग्नतामा नरहेको दाबी गरेका छन्। प्राविधिक कर्मचारी कार्कीले त्योबारे आफूलाई केहीपनि जानकारी नभएको बताए। ‘मैले चिया पनि खाएको छैन। कसैले आरोप लगाउँछ भने, त्योसँगै गएर शैलेश्वरी र सालमुनीमा कसम खान तयार छु,’ उनले भने। प्राविधिक कर्मचारी कार्कीले ८ लाखको उक्त योजना समयमा नै सम्पन्न भएको दाबी गरेका छन्। 

यस्तै घुस माग्नेमा नाम जोडिएका अर्का गाउँपालिकाका प्राविधिक कर्मचारी शेखर सावदले पनि १७ प्रतिशत मागेको विषयमा केही थाहा नभएको बताए। ‘मलाई यसबारे केही पनि थाहा छैन। काम राम्रो भएको छ। भुक्तानीसमेत भइसकेको छ,’ उनले भने।

प्राविधिक कर्मचारी शेखरले भने उक्त योजना १० लाखको भएको बताए। यसरी एकै कार्यालयका कर्मचारीले योजनाको बजेट नै फरक–फरक उल्लेख गर्न थालेपछि अनियमितताको आशंका थप बढेको छ। 

यस विषयमा पर्खाल निर्माणको काम गर्ने जिम्मा पाएका विनोद पुनमगरसँग फोनमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन। प्राविधिक कर्मचारीले घुस मागेको विषय जनप्रतिनिधिसँग पनि जोडिएको छ। जनप्रतिनिधिकै संलग्नतामा आर्थिक अनियमितता हुने गरेको आशंका स्थानीयको छ। यस विषयमा थप बुझ्नका लागि गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीलाई सम्पर्क गर्न खोज्दा उनको फोन पनि उठेन। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस