सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायीको जग्गामा अवैध काठ फेला, उत्खनन् गर्न डराउँदै वन कर्मचारी

२०७९ साउन १७, ११:५४ कमल सावद

धनगढीः कैलालीको धनगढीमा एक व्यवसायीको जग्गामा गाडिएको अवस्थामा अवैध काठ भेटिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरीको खेतमा गाडिएको अवैध काठ फेला परेको हो। 

वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जमिनमा अवैध काठ गाडेको स्वीकार गरेका छन्। उनले भने, ‘मैले जंगलबाट ल्याएको हैन। मेरो खेतको रुख ढलेको होे। मैले जेसीबीले पुरेकै हो’ उनले भने, ‘सामुदायिक वनका अध्यक्षलाई लगेर जान भनेको थिए। तर उहाँहरुले लिनुभएन।’ उनले काठ ढाक्न माथिबाट ग्राभेल हालेको बताएका छन्। 

व्यवसायी चौधरीले ढलेको सालको रुख माटोले पुरेको बताएपनि उक्त क्षेत्रमा ठुलो परिणामको अवैध काठ रहेको स्थानीय बताउँछन्। एक स्थानीयले दिनेशखबरसँग भने, ‘ग्राभेल र भरान गरिएको माटोमुनी धेरै सालका गोलियाहरु छन्। करन यो क्षेत्रको ठुलो काठ व्यवसायी हो। हामीहरु करन देखेर डराउँछौ। उसले वनका कर्मचारीहरुलाई पनि मिलाएको छ।’ उनका अनुसार  रातिको समयका करनको ट्याक्टर वनका कर्मचारीले छोपेका थिए। तर कर्मचारीलाई पैसा खुवाएपछि उनलाई छोडिएको स्थानीयले बताएका छन्। 

जंगलदेखि १० फिटको दुरीमा जमिनमा गाडिएको ठुलो परिणामको काठ रहेको स्थानीय बताउँछन्। करन चौधरीको जंगल कटेजको प्रवेशदवारदेखि १५ फिटको दुरीमा पनि जमिनमा गाडिएको अवैध काठ रहेको स्थानीय बताउँछन्।  काठ व्यवसायीले जमिनमुनी काठ रहेको स्वीकार गरेपनि वनका कर्मचारीले छानविन गर्न सकेका छैनन्। उनीहरुले जेसीबी नभएको भन्दै उत्खनन् गर्न नसकेका हुन्।

सव–डिभिजन वन कार्यालय, तारानगरको समूह बिहानै जालीमा पुगेको थियो। तर डिभिजन वन कार्यालयको समूह ढिलोगरि मात्र घटना स्थलमा पुग्यो। उनीहरु पहिले डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख पूर्णशंकर यादवको निवास गएका थिए। यादवले पत्रकार घटनास्थलमा पुगेपछि मात्रै कर्मचारी पठाएको एक वनका कर्मचारीले बताए।  निमित्त प्रमुखले व्यवसायी चौधरीसँग लेनदेन गरेको हुनसक्ने उनको आशंका छ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादव भने फोन उठाइरहेका छैनन्। सुरुमा सहायक वन अधिकृत जिसन कार्कीको नेतृत्वमा एक समूह डिभिजन वन कार्यालयबाट आएको बताएका उनले पछि फोन नउठाएका हुन्।  उक्त स्थल पुगेका काठ व्यवसायी चौधरी भने फोनमा धम्कि दिदै थिए। उनी मान्छे मारेपनि पाँच दिनमा बाहिर आउने फोनमा भन्दै थिए। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस