सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ५ स्थानीय तहमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच हुँदै

२०७९ साउन १५, ०६:५७ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा आइतबारदेखि जग्गा नापजाँचको काम सुरु भएको छ। आइतबार भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले एकसाथ जग्गा नापजाँचको उद्घाटन गरेका हुन्। 

वडा नम्बर ४ मा जग्गा नापजाँचको काम सुरु भएसँगै धनगढी उपमहानगरपालिकाका पाँच वडामा एकसाथ काम थालिएको हो। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीलाई जग्गाको नापजाँचमा विवाद नगर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धीबहादुर खड्काले वर्षौ वर्षको माग पूरा हुने चरणमा आएको बताए। उनले भने, ‘वर्षौ वर्षदेखिको हाम्रो माग हो। अहिले बल्ल प्वाइन्टमा पुगेका छांै। सबैले सहजरुपमा सहयोग गर्यो भने यो महिनाभित्र लालपुर्जा वितरण गर्छाै।’

धनगढीसहित कैलालीका पाँच स्थानीय तहमा एकसाथ जग्गाको नापजाँच प्रक्रिया अघि बढाइएको छ। जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग र स्थानीय तहहरुले कर्मचारी खटाएका हुन्।  धनगढी उपमहानगरपालिकासँगै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको काम सुरु गर्दैछ। 

भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले साउन महिनाभित्र केही वडामा लालपुर्जा वितरणको काम सुरु हुने बताए। भूमि आयोगले निःशुल्क लालपुर्जा वितरण गर्ने भनेको छ। तर कैलालीका स्थानीय तहहरुले जग्गा धनीबाट शुल्क लिदै आएको पाइएको छ। धनगढी उपमहानगरपालिकाले पाँच कट्टाभन्दा कम भएका जग्गा धनीबाट एक हजारदेखि एक हजार पाँच सय रुपैयाँ रकम शुल्क लिँदै आएको हो।

लामो समयदेखि जग्गाधनी प्रमाणपत्र नपाएकाहरु नापजाँच सुरु भएपछि हर्षित छन्। तर सरकार परिवर्तन भए नापजाँचको काम बन्द हुने चिन्ता भने स्थानीयमा कायमै छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस