निर्मलाकी आमालाई भेटेर रविले भनेः यसैपालि नेतृत्व गरेर न्याय दिलाउँछु
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि लड्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि महेन्द्रनगर पुगेका लामिछानेले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घरमा पुगेर यस्तो बताएका हुन्।
उनले निर्मलाकी आमा दुर्गा पन्तलाई भेटेर आफू जिवित रहुँन्जेलसम्म न्यायका लागि लडिरहने प्रतिबद्धता जनाए। दुर्गालाई भेटेर यस्तो प्रतिबद्धता जनाएको रबिले सामाजिक सञ्जालमाफर्त जानकारी दिए।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘न्याय नपाए गोर्खा जानू भन्ने चलन हाम्रा पुर्खाहरुले सयौं वर्ष अगाडि चलाएका थिए। एउटा देशको नागरिकले अन्याय भएको महशुस गरे। न्यायालय नै अन्तिम विकल्प हो, त्यो अन्तिम विकल्पलाई पनि राजनीतिकरणले ध्वस्त बनाए। चिन्ता नगर्नुहोस, मैले बाटो फेरेको मात्र हुँ, वाचा फेरेको छैन। आफू जिवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन। यसैपालि नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन।’
भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कारपछि हत्या भएको अहिले चार वर्ष पुगको छ। तर, अहिलेसम्म दोषीको पहिचान हुन सकेको छैन।