सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा बढ्दै बाघको संख्या, पुगे ३६

२०७९ साउन १३, ०४:४० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेखनीय रुपमा बढेको पाइएको छ। सन २००९ मा त्यहाँ ८ ओटा बाघ रहेकोमा अहिले त्यो संख्या बढेर ३६ पुगेको छ।

शुक्रवार विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो। विगत १३ वर्षयता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

आफूहरुले जडान गरेका क्यामेराबाट खिचिएका तस्बिरबाट बाघको संख्यामा वृद्धि भएको जानकारी पाएको उनले बताए। अहिले निकुञ्जमा १६ पोथी, १२ भाले रहेको तथा अन्यको लिङ्ग पहिचान नभएको उनले बताए।
निकुञ्जमा सन् २००९ मा ८ वटा, २०१३ मा १७ ओटा, २०१८ मा १६ र २०२२ मा आएर बाघको संख्या ३६ ओटा पुगेको छ। बाघलाई चाहिने आहारा प्रजातिको घनत्व बढेको, चोरी शिकारीमा कमी र स्थानीय तथा सामुदायिक वनका पदाधिकारीहरु लगायतको सहयोगले निकुञ्जमा बाघको संख्यामा बढोत्तरी भएको संरक्षण अधिकृत ऐरले बताए।

बाघको संख्यामा वृद्धि भएसँगै बाघलाई सुरक्षित राख्न विभिन्न चुनौति पनि रहेको बताइएको छ। निकुञ्ज नजिक बस्ने स्थानीयको वन प्रवेश बढ्दै गइरहेको अवस्थामा बाघको बासस्थान मासिँदै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। पछिल्लो २ वर्षमा निकुञ्जमा २ ओटा बाघ मृत फेला परेको बताइएको छ। 

२०१० मा विश्वभरी बाघको संख्या ३ हजार रहेको थियो। अहिले विश्वभरी बाघको संख्या ६ हजार पुगेको छ। यस्तै अहिले नेपालभर बाघको संख्या ३ सय ५५ पुगेको छ। 

कमेन्ट लोड गर्नुस